नेपालगञ्ज– बाँकेको नेपालगञ्जमा एकीकृत जाँचचौकी (आईसीपी) सञ्चालनमा आएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सोमबार आयोजित एक कार्यक्रमका बीच जाँचचौकीको शुभारम्भ गरेका हुन्।
त्यसअवसरमा मन्त्री भण्डारीले जाँचचौकी स्थापनापछि राजस्व सङ्कलनमा वृद्धि र अवैध ओसारपसार नियन्त्रण र व्यापार पारवहनको क्षेत्रमा समेत उल्लेख्य योगदान पुग्ने बताए। उनले आन्तरिक राजस्व सङ्कलन हुननसकेको र व्यापारघाटा बढिरहेको अवस्थामा आयात तथा निर्यातमा समेत जाँचचौकी फलदायी हुने विश्वास व्यक्त गरे। मन्त्री भण्डारीले लक्ष्यको आधाहिस्सा पनि राजस्व उठ्न नसकेको भन्दै खुला सीमाबाट हुने वस्तुको आयातसमेत व्यवस्थित बनाउन आवश्यक रहेको बताए।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जाँचचौकी सञ्चालनपछि अन्तर्राष्ट्रिय व्यापारमा वृद्धिहुनुका साथै अवैध क्रियाकलाप रोक्न सहयोग पुग्ने बताए।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जाँचचौकी स्थापनाले चौरीपैठारी रोकथाममा कडाइ हुने विश्वास व्यक्त गर्दै भारतबाट एक सय रुपैयाँको सामान ल्याउनेहरूलाई भने सहजीकरण गर्नपर्ने धारणा राखे। यस्तै, उद्योग सचिव कृष्णबहादुर रावत, भन्सार विभागका महानिर्देशक ढुण्डिराज निरौलालगायतले जाँचचौकी सञ्चालनबाट लाभलिन आग्रह गरे।
एकीकृत जाँच चौकीमा कूल आयाततर्फ दुई सय र निर्याततर्फ ७५ ट्रकका लागि पार्किङ् क्षेत्र, भन्सार, अध्यागमन, क्वारेन्टिन, भन्सार सुरक्षा, अपरेटर कम्पनी, बैंक सञ्चालनलगायत कार्यका लागि भवन निर्माण गरिएका छन्। साथै मालवस्तु आयातको भण्डारणका लागि तीन गोदाम, एप्राइजल सेट, विद्युतीय सबस्टेशन, धर्मकाटालगायत महत्वपूर्ण पूर्वाधार निर्माण गरिएका छन्।
करिब दुई सय करोड भारतीय रुपैयाँको लागतमा निर्माण सम्पन्नभएको जाँचचौकीको विसं २०८० जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेका थिए। नेपाल भारतका चार सीमानाका विराटनगर, वीरगंज, भैरहवा र नेपालगञ्जमा दुबैतर्फ समानरूपमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माण गर्न नेपाल सरकार र भारत सरकारबीच सन् २००५ अगष्ट ३ मा भएको समझदारीअनुरूप वीरगञ्ज र विराटनगरमा एकीकृत जाँचचौकी निर्माणकार्य सम्पन्न भई सञ्चालनमा आइसकेका छन्। नेपालगञ्ज एकीकृत जाँचचौकीको निर्माण कार्य विसं २०७७ असोज २६ गते सुरू भई विसं २०८० फागुनमा सम्पन्न भएको हो।
कूल ४५ दशमलव ८१ हेक्टर क्षेत्रफलमा फैलिएको जाँच चौकीमा पहिलो चरणमा १८ दशमलव शून्य पाँच हेक्टरमा संरचना निर्माण गरिएका छन्।