काठमाडौं- आज ६ मे। विश्व इतिहासका असंख्य घटनाले आजको दिन देश, क्षेत्र र स्थान विशेषमा सम्झना दिलाउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९९४- संसारकै लामो समुद्री सुरुङ
सन् १९९४ मा आजकै दिन बेलायत-फ्रान्सबीच निर्मित च्यानल टनेल सार्वजनिक प्रयोगका निम्ति खुला गरिएको थियो। बेलायतकी तत्कालीन महारानी एलिजाबेथ द्वितीया र फ्रान्सका राष्ट्रपति फ्राँस्वा मितेराँले च्यानल उदघाटन गरेका थिए। ५० किलोमिटर लामो उक्त च्यानल समुद्र मुनि निर्मित विश्वको सबैभन्दा लामो सुरुङ मार्ग हो।
– सन् १९७६- इटाली भूकम्पमा गयो ९३९ को ज्यान
सन् १९७६ मा आजकै दिन इटालीको उत्तरपूर्वी भागमा गएको भूकम्पमा परी ९३९ जनाको ज्यान गएको थियो। उक्त भूकम्पमा १ लाख ५७ हजार जनसंख्या घरबारविहीन भएको थियो। उक्त भूकम्प ६.५ रेक्टर स्केलको थियो।
– सन् १९५४- ४ मिनटमा एक माइल पार
सन् १९५४ मा आजकै दिन ब्रिटिस धावक रोगर बेनिस्टरले ४ मिनटमा एक माइल (१.६० किलोमिटर) दौडेर विश्व रेकर्ड बनाएका थिए। उनले त्यसका लागि ३ मिनट ५९.४ सेकेन्ड लगाएका थिए। र, १ हजार ६०९ मिटर पार गरेका थिए। तथापि, उक्त रेकर्ड फेब्रुअरी २०१४ मा मोरक्कोका एल गुइरोजले तोडेका छन्। उनले ३ मिनट ४३.१३ सेकेन्डमा रोगरले पार गरेको दूरीमा दौडेर विश्व रेकर्ड कायम गरेका छन्।
– सन् १९३७- जेपलिन युग अन्त्य गर्ने दुर्घटना
सन् १९३७ मा आजकै दिन तत्कालीन जेपलिन विमानको युग अन्त्य गर्ने दुर्घटना भएको थियो। हाइड्रोजन भरिएको हिन्डेनबर्ग जेपलिनमा आगो लागेको थियो। र, त्यसमा परी ३५ जनाले ज्यान गुमाएका थिए। उक्त जर्मन हवाई जहाज अमेरिकाको न्युजर्सीस्थित लेकहर्स्ट विमानस्थलमा अवतरण क्रममा दुर्घटनामा परेको थियो।
– सन् २०२३- राजा चार्ल्सको राज्याभिषेक
सन् २०२३ मा आजकै दिन बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक भएको थियो। उनीसँगै रानी क्यामिलालाई पनि राज्याभिषेक गराइएको थियो। त्यससँगै ७० वर्षपछि बेलायतमा राज्याभिषेक समारोह आयोजना भएको थियो। महारानी एलिजाबेथ द्वितीयाको निधनपछि चार्ल्स बेलायतको राजा बनेका छन्।
– सन् २००२- एलन मस्कको ‘स्पेस एक्स’ स्थापना
सन् २००२ मा आजकै दिन एलन मस्कको अन्तरिक्ष यान निर्माण गर्ने कम्पनी ‘स्पेस एक्स’ स्थापना भएको थियो। दक्षिण अफ्रिकामा जन्मेका मस्क अमेरिकी उद्योगी हुन्। ‘स्पेस एक्स’को स्थापनापछि नै हो, अन्तरिक्षमा व्यावसायिक उडान हुन थालेको पनि।