काठमाडौं- आज १ मे। विश्व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९७८- उत्तरी ध्रुवमा एक्लै पुग्ने व्यक्तिको रेकर्ड
धर्तिको अति कठिन मानिएको उत्तरी ध्रुवमा एक्लै पुगेर आजकै दिन जापानी नागरिक नाओमी उएमुराले विश्व रेकर्ड कायम गरेका थिए। डेनाली उपनामबाट चिनिने उत्तर अमेरिकाको सबैभन्दा अग्लो पहाड माउन्ट म्याककिन्लेको शिखरमा पहिलोपटक मानव पाइला टेकेको रेकर्ड पनि उनकै नाममा छ। यस्तै, संसारकै खतरनाक मानिएको अमेजन नदीमा पहिलोपटक एक्लै र्याफ्टिङ गरेको रेकर्ड पनि उनकै नाममा छ। तथापि, सन् १९८४ मा पुनः माउन्ट म्याककिन्लेको शिखरमा पुग्ने क्रममा उनी बेपत्ता भए।
– सन् १९६१- क्युबामा निर्वाचन निषेध
सन् १९६१ मा आजकै दिन फिडेल क्यास्त्रोले क्युबालाई समाजवादी राष्ट्र घोषित गर्दै आवधिक निर्वाचनलाई निषेध गरेका थिए। क्यास्त्रोलाई सत्ताच्युत गर्न अमेरिकी प्रायोजनमा भएको आक्रमण असफल भएलगत्तै उनले घोषणा गरे, ‘क्रान्तिसँग चुनावका लागि समय छैन।’
– सन् १९४५- जर्मनीको रेडियोमार्फत हिटलरको मृत्यु घोषणा
सन् १९४५ मा जर्मनीको रेडियोले एडोल्फ हिटलरको मृत्यु भएको घोषणा गरेको थियो। बर्लिनको लडाईंमा पराजयलगत्तै हिटलरले आफैंलाई गोली हानी आत्महत्या गरेका थिए। तत्कालीन सोभियत संघसँगको लडाईंमा हिटलरको सेनाले हार बेहोरेको थियो। जर्मनीको रेडियोमा भनिएको थियो, ‘हाम्रा नेता एडोल्फ हिटलरले बोल्सेभिजमविरुद्ध आफ्नो अन्तिम श्वाससम्म लडिरहे।’
– सन् १९२५- विश्वकै ठूलो ट्रेड युनियन स्थापना
सन् १९२५ मा आजकै दिन चीनमा विश्वकै ठूलो ट्रेड युनियन स्थापना भएको थियो। त्यतिबेला स्थापना भएको ‘अल चाइना फेडेरेसन अफ ट्रेड युनियन्स’सँग हाल ३० करोडभन्दा बढी सदस्य छन्।
– सन् १८४०- विश्वको पहिलो हुलाक टिकट जारी
सन् १८४० मा आजकै दिन ब्रिटेनमा विश्वकै पहिलो गमले टाँस्न मिल्ने हुलाक टिकट जारी भएको थियो। ‘पेनी ब्ल्याक’ नाम दिइएको त्यस हुलाक टिकटमा बेलायतकी तत्कालीन महारानी भिक्टोरियाको तस्बिर राखिएको थियो। ऐतिहासिक महत्त्वका बावजुद उक्त हुलाक टिकट २५ डलरमा खरिद गर्न सकिन्छ। उक्त टिकट ६ करोड ८० लाख प्रति वितरण गरिएको थियो।
– सन् १८८९- मे दिवसको शुरुवात
आज संसारभर मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवस सन् १८८९ मा मे दिवसका रूपमा मनाउन थालिएको थियो। त्यतिबेला वसन्त ऋतुको शुरुवातका रूपमा यसलाई उत्सवकै रूप दिइएको थियो। सोही उत्सवमा सहभागी हुन सहज बनाउने उद्देश्यले श्रमिकहरूलाई विदा दिइएको थियो। इन्टरनेसनल सोसलिस्ट कंग्रेसले त्यसलाई मान्यता दिएको थियो।
– सन् १९९९- सगरमाथाबाट ब्रिटिस पर्वतारोहीको शव ७५ वर्षपछि फेला
सन् १९९९ मा आजकै दिन ब्रिटिस पर्वतारोही जर्ज म्यालोरीको शव सगरमाथा क्षेत्रमा फेला परेको थियो। उनी र एन्ड्र्यु इरभिन सगरमाथा चुचुरोमा पहिलो व्यक्ति बन्ने मिसनका क्रममा शिखरमा नपुगी बेपत्ता भएका थिए।
– सन् २०१९- तिब्बतमा १ लाख ६० हजार वर्ष पुरानो मानव अवशेष फेला
सन् २०१९ मा आजकै दिन चीनको स्वशासित क्षेत्र तिब्बतमा १ लाख ६० हजार वर्ष पुरानो मानव अवशेष फेला परेको थियो। ‘डेनिसोभान’ नाम दिइएको उक्त मानव प्रजाति तिब्बतको उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने गरेको वैज्ञानिकहरूको आकलन छ।