काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध दोहोरो नागरिकताको उजुरी परेपछि आफ्नो ध्यानाकर्षण भएको भन्दै स्पष्टिकरण दिएका छन्।
उनले राज्यलाई शंका लागेमा कुनै पनि विषयमा अनुसन्धान गर्न सक्ने भन्दै आफ्नो नागरिकताबारे शंका लागे अनुसन्धान गर्न सक्ने बताएका हुन्।
सोमबार ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै उनले २०३४ सालमा नागरिकता लिएकामा नेपाली कागजको प्रति पुरानो भएकाले २०५७ मा प्रतिलिपि लिएको बताएका छन्।
उनले भनेका छन्, “मैले २०३४ मा नागरिकता लिएकामा नेपाली कागजको प्रति पुरानो भएकाले २०५७ मा प्रतिलिपि लिएको हुँ। जसमा २०३३ / ३४ को प्रतिलिपिअनुसार’ भनेर स्पष्ट उल्लेख छ। नम्बर पनि उही छ, मैले अरू नागरिकता लिएको छैन। २०३४ मा मैले नागरिकता लिएपछि २०३६ मा अरु कसैका नाममा त्यही नम्बर लेखिएको छ भने मेरो जिम्मेवारीको विषय होइन। त्यस्तै हिमालयन रि-इन्स्योरेन्सको प्रबन्धपत्रमा टाइप गर्दा नम्बर गलत भएको कम्पनीले नै जानकारी दिएको छ। अझ, प्रबन्धपत्रसहित कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाइएको फाइलमा मेरो नागरिकताको प्रतिलिपि नत्थी भएकाले सत्यतथ्य आफैँ स्थापित हुन्छ।”
सिरोहियाले गृहमन्त्रीप्रति लक्षित गर्दै कान्तिपुरले प्रकाशित गर्दै आएका समाचारबाट अत्तालिएको कोही कसैले ‘स्टन्टबाजी’ गरेर प्रभावित पार्न खोज्छ भने त्यो स्वैरकल्पना मात्र हुने चेतावनी दिए।
उनले भने, “राज्यलाई शंका लागेमा कुनै पनि विषयमा अनुसन्धान गर्न सक्छ, जिम्मेवार नागरिकका हैसियतमा म हार्दिक स्वागत गर्दछु। तर, कान्तिपुरले प्रकाशित गर्दै आएका समाचारबाट अत्तालिएको कोही कसैले ‘स्टन्टबाजी’ गरेर प्रभावित पार्न खोज्छ भने त्यो स्वैरकल्पना मात्र हुनेछ। विभिन्न कालखण्डका शासकहरुले विगतमा पनि यस्ता हत्कन्डा गरेका हुन्, तर कान्तिपुरले गर्दै आएको निर्भिक पत्रकारिता आफैंमा पर्याप्त जवाफ हो।”