काठमाडौं- रानीपोखरीको डिलैमा शान्तिवाटिका। यो सुन्दर पार्क अहिले आन्दोलनकारीहरूले भरिएको छ। ४ मंसिरमा माइतीघर मण्डलाबाट लखेटिएका आन्दोलनकारीहरू अहिले शान्तिवाटिकामा आ-आफ्ना माग सम्बोधन गराउन डटेका छन्।
वाटिकाको मूल ढोकाकै दाहिनेपट्टी करिब ६५ वर्षीय तेलबहादुर घले भुईंमा म्याट बिच्छ्याई पलेंटी कसेर बसेका छन्। उनकै दाहिनेपट्टी करिब ७ मिटर टाढा म्याट बिच्छ्याएर निर्मलादेवी साह पल्टिरहेकी थिइन्। उनको गोडातिर उनका २३ वर्षीय छोरा प्रेम साह बसिरहेका थिए।
निर्मलादेवीकै छेउमा आरती गिरी रावलको म्याट थियो। म्याटमा बिरामी पारामा पल्टिरहेकी आरतीको हातमा स्लाइन पानीको सुई हातमै खोपिएको थियो। धेरै दिनदेखि अन्नपानी मुखमा नराखेकी आरतीको ओठ फुटेर रगत आउलाझैं देखिन्थे।
यो दृश्य हो, काठमाडौं रत्नपार्कस्थित शान्तिबाटिकाको, जहाँ माइतीघर मण्डलाबाट लखेटिएका र आ-आफ्ना मागमा आन्दोलनरत व्यक्तिहरू लहरै बसेका छन्।
०००
कुनै समय पार्कका रूपमा रहेको शान्तिबाटिका केही समयदेखि पीडितहरूको प्रदर्शन गर्ने थलो बनेको छ। रानीपोखरी छेउको सुन्दर पार्क शान्तिबाटिकामा गत फागुन-चैतदेखि देशका विभिन्न भागबाट सहकारी पीडितहरू न्यायको हारगुहार लगाउन बसेका थिए, जहाँ अझै पनि ४०२ दिनदेखि ५० को संख्यामा सहकारी पीडितहरू धर्नामा बसिरहेकै छन्।
उसो त, सबैको आन्दोलन, धर्ना र अनसन बस्ने थलोको रूपमा माइतीघर मण्डला परिचित छ। तर, गत ४ मंसिरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलालाई ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिदियो। सो क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयले निषेध गरेको छ। त्यसैले लामो समयदेखि माइतीघर मण्डलामा धर्ना र अनसन गर्दै आएका व्यक्तिहरू विचल्लीमा परेका थिए।
सर्वसाधारणदेखि ठूला राजनीतिज्ञ, चिकित्सक, शिक्षकहरूले आन्दोलन तथा धर्ना बसेको इलाकालाई नै प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि त्यहाँका धर्ना, अनसन बसिरहेका पीडितहरू न्यायको हार-गुहार लगाउँदै शान्तिबाटिकामा धाउनु परेको छ।
०००
माइतीघर मण्डलादेखि शान्तिवाटिका पुग्नेमध्ये धनुषाका विनोदप्रसाद साहको परिवार पनि एक हो। मृतक २३ वर्षीया छोरी आरती साहको न्यायकै लागि १ असारमा काठमाडौं छिरेको विनोदको परिवार अहिले पनि धर्नामै छ।
४ मंसिरमा प्रशासन कार्यालयले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुअघि साहको परिवार माइतीघर मण्डलामा धर्नामा थियो। ४ मंसिर राति प्रहरीले नै जबर्जस्ती गाडीमा राखेर उनको चार जनाको परिवारलाई शान्ति वाटिका पुर्यायो। माइतीघर मण्डलाबाट शान्तिवाटिकामा आउन नमान्दा उनकी श्रीमती निर्मलादेवी र कान्छी छोरी मनिषामाथि महिला प्रहरीले हातपात पनि गरे।
धर्ना बसेको ७ महिना भइसक्दा पनि उनले मृतक छोरीलाई न्याय दिलाउन सकिरहेका छैनन्। १ असारमा विवश भएर उनी स-परिवार काठमाडौं छिरेका थिए। अहिले पनि त्यही पीडा र विवशताका साथ दिन गुजार्नु परेको छ।
आरतीलाई न्याय दिलाएरै घर जाने वाचा गरेको उनको परिवारको कुनै पनि सदस्य सात महिनायता आफ्नो घर गएको छैन। विनोदको परिवारले मृतक छोरीको हत्या गरिएको आरोप उनका श्रीमान् मोतिबाबु साह र ससुरा मोहन साहमाथि लगाउँदै आएको छ।
आरतीको मृत्युपछि माइतीपक्षको बयानकै आधारमा ८ जेठमा प्रहरीले आरतीका श्रीमान मोतीबाबु र ससुरा मोहनलाई पक्राउ गरेको थियो। त्यसपछि ५ असारमा सिन्धुली कारागारमा पूर्पक्षमा पुगेका उनीहरू दुवै १८ असोजमा सामान्य तारिकमा छुटेका थिए।
सामान्य तारिकमा छुटेपछि १८ भदौमा आरतीका श्रीमान् र ससुराविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको थियो। सर्वोच्चले २० मंसिरमा मोतीबाबु र मोहनलाई पक्राउ गर्न आदेश दिएको थियो। उनीहरू ९ पुसमा पक्राउ परे। आरतीका ससुरा मोहन भने १ लाख रुपैयाँ धरौटीमा छुटिसकेका छन्।
जिल्ला अदालत धनुषामा आरतीको परिवारविरुद्ध मुद्दा चलिरहेको छ। तर, अहिलेसम्म बकपत्र हुन सकेको छैन। बकपत्रको लागि १७ मंसिरको समय दिइएको थियो। बयान दिन धर्नामा छोरा प्रेम साहलाई राखेर विनोद १७ मंसिर बिहानै श्रीमती निर्मला र छोरी मनिषालाई लिएर धनुषा जिल्ला अदालत पुगेका थिए। तर, सरकारी वकिलले आवश्यक कागजात सर्वोच्चमै छ भनेर फर्काए। बकपत्र नभएपछि विनोद फेरि छोरी, श्रीमतीसहित काठमाडौं धर्नामै फर्किए।
७ माघमा सर्वोच्चमा पेशी भएको समयमा सरकारी वकिलले आफूहरूलाई झुक्याएको उनले बल्ल पत्तो पाए। बकपत्रका लागि १८ र १९ मंसिर दुई दिनको मिति तोकिँदा पनि आफूहरूलाई जानकारी नदिएको उनको आरोप छ। महान्यायाधीवक्ताको कार्यालयमा धाएपछि बल्ल यही २९ माघमा बकपत्रको दिन तोकिएको उनी बताउँछन्।
०००
माइतीघर मण्डलामा धर्ना थालेर अहिले शान्तिवाटिकामा पुगेका अर्का व्यक्ति हुन्, गोरखाका तेलबहादुर घले। उनले धर्ना बसेको २१५ दिन बितिसक्यो। सेनाले सडक बनाउन बम विष्फोट गर्दा गोरखाको धार्चे गाउँपालिका-९ दोभान अवस्थित गेस्टहाउस तहसनहस भएपछि उनी क्षतिपूर्ति माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेका थिए।
क्षतिपूर्ति माग गर्दा हत्या नै गरिदिने सेनाको धम्कीका बावजुद उनले तीन वर्षपछि मात्र १३ लाख ८२ हजार रुपैयाँ पाएका थिए। तर, त्यो रकम नै उनका लागि पर्याप्त थिएन। करिब ६८ लाख लागतमा निर्माण गरिएको होटेल दुई वर्ष पनि चलाउन नपाई तहसनहस बनाइदिएपछि उनले क्षतिपूर्तिको माग गरेका थिए। सरकारले क्षतिपूर्तिका लागि २५ लाख उपलब्ध गराए पनि सेनाका मेजरले ११ लाख १८ हजार रुपैयाँ आफैंले राखेको उनको आरोप छ।
६० वर्षीय घलेले आफू अन्यायमा परेको भन्दै न्यायका लागि हारगुहार लगाएको महिनौं भइसक्दा पनि हार मानेका छैनन्। सामाकोशीमा कोठा भाडामा लिएर उनी श्रीमतीसँग बस्छन्। खाना खाएर हरेक दिन ११ बज्नुअघि नै शान्तिवाटिका पुग्छन्। दिनभरि बसेरै दिन बित्छ। बेलुका चिसो बढ्न थालेपछि उनी निराश हुँदै कोठातिर लाग्छन्। यही नै उनको दैनिकी बनेको छ।
गेस्टहाउस बनाउँदा लिएको ऋणले उनलाई बुढेसकालमा मर्नु न बाँच्नु बनाएको छ। यसैको चिन्ताले श्रीमती डिप्रेसनको शिकारसमेत भएकी उनी बताउँछन्। कहींबाट केही पहल नभएपछि २० दिनअघि उनले प्रधानमन्त्रीको स्वकीय सचिवकहाँ आफ्नो वेदना लेख्दै निवेदन दिएका थिए। तर, त्यहाँबाट पनि केही आश देखिएको छैन।
०००
माइतीघरदेखि शान्तिवाटिकासम्म आमरण अनसन बस्नेमध्येकी आरती रावल गिरी रावल पनि एक हुन्। उसो त, यो उनको दोस्रो आमरण अनसन हो। उनले पहिलो पटक १० असारदेखि आमरण अनसन शुरु गरी ६८ दिनसम्म बसेकी थिइन्। २-३ पटक अदालतले बकपत्रको आदेश दिइँदा पनि आफूलाई त्यसको जानकारी नदिएको भन्दै उनले शुरुमा अनसन थालेकी थिइन्। गत १ माघबाट उनी दोस्रो आमरण अनसनमा बसेकी छन्।
आफ्नै श्रीमान् न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार र जबर्जस्ती करणीको आरोप लगाएकी उनको मुद्दामा कुनै किसिमको निसाफ हुन सकेको छैन।
आरतीले २ मंसिर ०७९ मा जिल्ला अदालत कपिलवस्तुमा जाहेरी दिएकी थिइन। सोही वर्ष फागुन अन्तिमतिर उनले दिएको जाहेरीकै आधारमा घरेलु तथा वैवाहिक बलात्कारको मुद्दा दर्ता भएको थियो।
वैवाहिक बलात्कारको मुुद्दा चलिरहँदा र सम्बन्धविच्छेदसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेकै समयमा २७ चैतमा न्यायाधीश गिरीले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै २८ चैतमा उनले न्यायाधीश गिरीविरुद्ध जिल्ला अदालत काठमाडौंमा जबर्जस्ती करणीमा उजुरी दिएकी थिइन्। र, २९ चैत्रमा मुद्दा दर्ता भएको थियो।
कपिलबस्तु र जिल्ला अदालत काठमाडौंमा गरी न्यायाधीश गिरीविरुद्ध उनले दुईवटा मुद्दा दर्ता गरेकी छन्। तर पनि, अहिलेसम्म दुई मुद्दामध्ये एकमा पनि फैसला हुन सकेको छैन। आफूसँग न्यायाधीश गिरीविरुद्ध प्रमाण हुँदाहुँदै पनि न्यायमूर्तिले न्याय नदिएको आरोप उनको छ।
‘वैवाहिक बलात्कारसम्बन्धी मुद्दा हुँदाहुँदै जबर्जस्ती करणी गरिनु अपराध हो। त्यस्तो व्यक्तिलाई थुनामा राखी कारवाही गरिनुको साटो धरौटीमा बाहिर छोडिनु कहाँको न्याय हो ?’ उनी प्रश्न गर्छिन्।
उनका अनुसार कपिलबस्तु जिल्ला अदालतले अहिलेसम्म १३ पटक मुद्दा स्थगित गरिसकेको छ। कहिले मुद्दा स्थगित गरिन्छ भने कहिले गोलामा परेन भनेर पन्छाउन खोजिन्छ। भन्छिन्, ‘कानून सबैलाई बराबर हो भने न्यायाधीश गिरीलाई पनि लागू हुनूपर्छ। म न्याय पाउनको लागि हार स्वीकार गर्नुभन्दा बरू मृत्यु स्वीकार्न तयार छु।’ अहिले आरतीको समर्थनमा महिलाकर्मी सम्झना महतले सहयोग गर्दै आएकी छन्।