इलाम– इलाम क्षेत्र-२ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना बिहान ११ बजेबाट शुरू भएको छ। केही बेरअघि सम्पन्न सर्वपक्षीय बैठकले ११ बजेबाट मतगणना गर्ने सहमति गरेको थियो।
फाकफोकथुम गाउँपालिकाबाट सुरु भएको मतगणना त्यसपछि क्रमशः चुलाचुली,माङसेबुङ गाउँपालिका र माइ,देउमाइ र इलाम नगरपालिकाको गर्ने सर्वदलीय सहमति भएको छ।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार बिहान ७ बजेदेखि नै मतगणना गर्ने तयारी थियो तर सर्वदलीय बैठक हुन समय लागेकाले ११ बजेदेखि मात्र गणना गर्न थालिएको हो।
इलाम नगरपालिका-७ स्थित गौतमबुद्ध सभागृहमा मतगणना हुदैछ। गणनास्थलमा ११ वटा सिसी क्यामेरा जडान गरिएका छन्। मतगणना स्थलमा भीड हुन नदिन चोक बजारमा रहेको ‘डिस्प्लेबोर्ड’मा परिणाम सार्वजनिक गरिने छ। मतपरिणाम एक-एक घण्टाको अन्तरालमा सार्वजनिक गरिने उनले बताए।
उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो। शनिबार बिहान ७ साँझ ५ बजेसम्म भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका छन्।
विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम-२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो।