• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

स्याटर्डे सिनेमा : यौनकर्मीको संघर्ष कथा ‘गंगुवाई काठियावाडी’


शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित

काठमाडौं- केही वर्षअघि मात्र भारतले यौन व्यवसायलाई कानूनी मान्यता दियो। त्यस अघिसम्म प्रहरीको छापाबाट बच्‍न यौनकर्मीहरूको भागदौड चल्थ्यो।

Advertisement

सन् १९५० को दशकमा यौनकर्मीहरूलाई झनै सकस थियो। समाजबाटै अपहेलित यौन व्यवसायलाई विश्‍वकै पुरानो पेशा मानिन्छ। तर, इतिहासदेखि आधुनिक युगसम्म आइपुग्दा पनि यौन पेशाप्रतिको दृष्‍टिकोणमा रत्तिभर परिवर्तन आएको छैन।

त्यसका बावजुद यो पेशा घट्नुको साटो विस्तार हुँदै गएको छ। प्रेम जालमा पारेर, विवाहको नाटक गरेर होस् या रोजगारीको प्रलोभनमा पारी बर्सेनि नेपालका हजारौं चेलीलाई छिमेकी देश भारतका विभिन्‍न वेश्यालयमा पुर्‍याउने क्रम अद्यापि रोकिएको छैन। केही वर्ष अघिसम्म त यो निकै भयावह थियो। गाउँका सोझासीधा महिलाहरूलाई अनेक प्रलोभनमा पार्दै भारत पुर्‍याई वेश्यालयमा पशुसरह बिक्री गरिन्थ्यो।

विश्‍वमा वेश्यावृत्ति बढी हुने देशहरूको सूचीमा भारत अग्रपंक्तिमै पर्छ,  जहाँ करिब ३० लाख महिला वेश्यावृत्तिमा सक्रिय रहेको अनुमान छ। कोलकाताको सोनागाछी एसियाकै ठूलो रेडलाइट एरियाका रूपमा चिनिन्छ। भारतको दोस्रो ठूलो रेडलाइट एरिया मानिन्छ मुम्बईको कामाठीपुरा, जसलाई सन् १७९७ मा तत्कालीन ब्रिटिस शासकले ‘लाल बजार’ नाम दिएका थिए। कामाठीपुरालाई मुम्बईको सबैभन्दा पुरानो वेश्यावृत्ति केन्द्र मानिन्छ, जहाँ करिब ५ हजार यौनकर्मी सक्रिय छन्।

सोही कामाठीपुराको करिब १०० वर्षअघिको इतिहास खोतलेको छ, बलिउड फिल्म ‘गंगुवाई काठियावाडी’ले। कामाठीपुरा अहिलेसम्म कसरी अस्तित्वमा रह्यो, तत्कालीन अवस्थामा त्यहाँका यौनकर्मीले रासन, शिक्षा र बैंकिङ अधिकारबाट वञ्‍चित हुनुपरेको संघर्ष कथा यस फिल्म समेटिएको छ।

त्यति मात्र होइन, वेश्यावृत्तिलाई कानूनी मान्यता दिलाउन तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूलाई भेट्न कामाठीपुराबाट दिल्ली पुगेकी गंगुवाईको किस्सा पनि निकै मार्मिक छ।

बदनाम गल्लीको कथा

‘गंगुवाई काठियावाडा’को कथा शुरु हुन्छ, १४ वर्षकी बालिकाबाट। मधु नाम गरेकी ती बालिकालाई लाली पाउडर, आँखामा गाजल, आइसेट अनि निधारमा रातो रङले बुट्टा र ओठमा लाली घसिँदै छ। रातो सारीमा सजाइएकी उनी कुनै दुलहीभन्दा कम देखिएकी छैनन्। लाग्छ- उनलाई मण्डपमा पुर्‍याउन मात्र बाँकी छ।

बेहुलीजस्तै सजिएकी उनी खुशी देखिन्‍नन्। आँखाभरि आँशु छचल्किएकी उनी बारम्बार आफूलाई सजाइरहेका ५-७ महिलाको जमात सामु रुँदै ‘म घर जान चाहन्छु’ भन्दै कराइरहेकी छन्। तर, उनको कुरा कसैले सुन्दैनन्। उल्टै ग्राहकलाई खुशी पार्न भनिन्छ।

यस दृष्‍यबाट उनलाई बेहुली बनाएर मण्डपमा पुर्‍याउन होइन, यौनकर्मी बनाउन लागिएको प्रष्‍ट हुन्छ। केही छिनमै करिब ५०-५५ वर्षे पुरुषलाई मधुलाई राखिएको अँध्यारो कोठामा पठाइन्छ। तर, मधुको जिद्दीसामु ती पुरुषको केही सीप लाग्दैन।

‘कामाठीपुरा’ बदनाम गल्ली। यौन व्यवसायका लागि मुम्बईको कुख्यात ठाउँ। त्यही बदनाम गल्लीमै रश्मीवाईले आफ्नो कोठी (वेश्यालय) चलाइरहेकी छन्। रश्मीवाईले १४ वर्षीया मधुलाई यौन व्यवसायमा लाग्‍न जबर्जस्ती गरिरहेकी छन्।

आफ्नै श्रीमान् नदिमद्वारा रत्‍नागिरिबाट कामाठीपुरा पुर्‍याइएकी मधुलाई ३ दिनदेखि ललाई-फकाई अनि कुटपिट गर्दा पनि रश्मीले मनाउन सकेकी छैनन्। केही सीप नलागेपछि अन्ततः उनी मधुलाई फकाउन गंगुवाईलाई बोलाउने निष्‍कर्षमा पुगेकी छन्।

‘गंगुवाई’ फिल्मकी मुख्य पात्र। कामाठीपुरामा गंगुवाईको नाम नै काफी छ। भरखरै उनी एक सामान्य यौनकर्मीबाट पूरै कोठी चलाउने मालिक्नी बनेकी छन्। यो हरकसैका लागि अकल्पनीय हो। १६ वर्षको उमेरमा जबर्जस्ती वेश्यावृत्तिमा धकेलिएकी गंगुवाईले २७ वर्षको उमेरमै मारेको फड्को र अन्डरवर्ल्ड डनसँगको कनेक्सनले कामाठीपुरामा उचाइमा पुर्‍याएको छ। मान्‍नेले मायाले त नमान्‍नेले डरैले भए पनि उनको सम्मान गर्छन्।

सेतो साडी, सुकिलो वर्ण, निधारमा रातो टीका, कालो चश्मा, कम्मरमुनिको सिरुपाते चुल्ठो, शीरमा सेतै गुलाब र पाउमा छन्-छन् बज्‍ने पाउजु। गंगुवाईको व्यक्तित्व त्यही पहिरनले झल्काउँछ। कुनै सिनेमाकी हिरोइनभन्दा कम देखिन्‍नन् उनी। त्यस पहिरनले उनी राजनीतिज्ञजस्ती पनि देखिन्छिन्। ‘जबसम्म कामाठीपुरामा गंगुवाई रहन्छु, त्यहाँ जहिल्यै जुनेती रात छाउनेछ’ उनको थेगो नै छ। र, आफूलाई चन्द्रमासँग दाँज्‍न उनी पछि हट्दिनन्।

हातमा कालो ब्याग अनि कालो छाता ओढेर कामाठीपुराको गल्ली हिँड्दा देशको प्रधानमन्त्रीभन्दा कम सम्मान मिल्दैन, गंगुवाईलाई। त्यहाँ आउने-जाने सबैले उनलाई सलाम ठोक्छन्। शारीरिक रूपमा जति सुन्दर छिन्, त्यति नै मिठो बोली भने छैन उनको। सीधा अनि चर्को बोल्छिन्। सोही कारण ईख मान्‍नेहरूले डर, त्रासले भए पनि देखावटी सम्मान देखाएकै छन्।

तिनै गंगुवाई मधुलाई सम्झाई-बुझाई गर्न रश्मीको कोठीमा पुगेकी छन्। मधुलाई सम्झाउने क्रममै उनी आफ्नो विगतलाई कोट्याउन पुग्छिन्।

काठीयावाडाकी गंगा

गुजरातको काठीयावाडाको एक नामी ब्यालेस्टरकी छोरी हुन्छिन्, गंगु उर्फ गंगा। उनको पूरा नाम गंगा हरजीवनदास काठीयावाडी हो। जति ठूलो नाम, त्यति नै ठूलो रुतवा छ, समाजमा उनको। नाच्‍न-गाउन रुचि राख्‍ने १६ वर्षीया गंगा कक्षा-९ मा पढ्दै छिन्। उनको सानैदेखिको सपना फिल्ममा हिरोइन बन्‍ने छ। गाउँकै २८ वर्षीय रम्‍निक लालसँग प्रेममा छिन्, उनी।

मुम्बई गई फिल्म खेल्ने सपना बुनेकी गंगाले आफ्नो रहरबारे प्रेमि रम्‍निकसँग खुलेर कुरा गर्छिन्। तर, उनीहरू प्रेम सम्बन्धमा रहेको दुवैको परिवारमा कसैलाई जानकारी छैन। गाउँमा गर्वा (नाच) चलिरहेको छ। त्यही अवसरमा रम्‍निकले दुईवटा मुम्बईको टिकट देखाउँदै गंगालाई देवानन्दसँग फिल्म खेल्न अफर आएको सुनाउँछन्। त्यसबाट उनी निकै खुशी हुन्छिन्।

फिल्म खेल्नकै लागि गंगा र रम्‍निक घरमा कसैलाई जानकारी नै नदिई काठीयावाडाबाट मुम्बई हिँड्छन्। रम्‍निकले भनेअनुसार घरबाट निस्कँदा गंगाले आमाका गरगहना र केही रकम बोकेकी हुन्छिन्। तर, घरमा कसैलाई जानकारी नगराइकनै मुम्बई हिँडेकामा उनले कताकता खल्लो महशुस गरेकी छन्। देवानन्दसँग फिल्म खेलेर थिएटरमा चल्नेबित्तिकै आमा-बुवा मात्र होइन, पूरै काठीयावाडाले माफ गर्नेछ भन्दै रम्‍निकले हौसला दिएपछि भने गंगालाई केही राहत मिल्छ।

गंगा, गंगुदेखि गंगुवाईसम्मको सफर

घरबाट हिँडेको अर्को बिहानी सपनाको शहर मुम्बई पुग्छन्, उनीहरू। मुम्बईमा बस्‍न-खान मासी (आमाकी बहिनी) को घर छ भन्दै रम्‍निकले कामाठीपुराको एक ठूलो बंगलामा पुर्‍याउँछन्। मासीलाई भेटेर आउँछु भनी गंगालाई एक ठाउँमा कुर्न लगाई रम्‍निक उनलाई शीला मासीको कोठीमा हजार रुपैयाँमा बेचेर गायब हुन्छन्।

सिनेमामा हिरोइन बन्‍ने सपना बुनेर मुम्बई पुगेकी गंगाको जीवनले त्यस दिनबाट नयाँ मोड लिन्छ। आफूले प्रेम गरेको मानिसले नै बेचेर गएको थाहा पाएपछि उनी छाँगाबाट खसेजस्तै  हुन्छिन्। अँध्यारो कोठामा कति  दिनसम्म त उनले मुखमा अन्‍नपानी पनि हाल्दिनन्। कामाठीपुरा आएको ६ दिनसम्म मनाउन नसकेपछि उनीमाथि जबर्जस्ती गरिन्छ।

अब उनी ब्यालेस्टरकी छोरी रहिनन्। र, कोठीमा रहेका अन्य यौनकर्मी र गंगुबीच कुनै भिन्‍नता बाँकी रहेन। उनको पहिचान नामले भन्दा पनि अब उनको पेशाले निर्धारण गर्ने भयो ‘धन्देवाली’ (यौनकर्मी)।

त्यहाँको तौरतरिका गंगालाई सिकाउन थालियो। कोठीका अन्य यौनकर्मीजस्तै दैनिक अनुहारमा भारी मेकअप गरेर ग्राहकलाई रिझाउनमा उनी पनि व्यस्त रहन थालिन्। गंगाको पहिलो ग्राहक गोविन्द सेठले उनलाई नयाँ नाम ‘गंगु’ दिन्छन्। त्यस दिनबाट गंगाले पनि आफूलाई नयाँ नामबाटै चिनाउन वेश ठान्छिन्।

त्यति मात्रै होइन, गोविन्द सेठले गंगालाई एक दिन कामाठीपुरामा राज गर्ने कुरा गर्छन्। सेठको त्यस कुराले भने गंगुलाई निकै प्रभाव पार्छ। अब गंगुको सपना फिल्मकी हिरोइन होइन, एक दिन शीला मासीजस्तै कामाठीपुरामा राज गर्ने हुन्छ।

एक दिन गंगुलाई खोज्दै बिहान ४ बजे नै गुण्डा शौकत खान पठान आइपुग्छ, जसले गंगामाथि शारीरिक शोषण गर्छ। शौकतले छुरा प्रहार गर्दा गंगुको पेटमा १५ टाँका लगाउनुपर्छ। र, ४ टाँका छातीमा। कोठीकी मालिक्नी शीला मासी निकै खुशी हुन्छे। गंगुको आगमनपछि उनले अन्य यौनकर्मीको हकहितको बारेमा वकालत गर्नुका साथै सातामा एक दिन विदा मनाउन पाउने नियम लागू गर्न बाध्य बनाएकी थिइन्। त्यसकारण शीला मासी गंगुसँग बदला लिने दाउमा थिइन्, जो शौकत गुण्डाबाट पूरा हुन्छ।

शौकतले आफूमाथि गरेको अत्याचारको बदला लिन गंगु रहिम लाला नामक अन्डरवर्ल्डको नामी गुण्डालाई भेट्न पुग्छिन्। शौकत खान रहिमका लागि काम गर्नेमध्यकै एक गुण्डा हुन्छ। केही दिनदेखि ऊ फरार हुन्छ। आफूमाथि भएका घटना सविस्तार सुनाएपछि रहिम गंगुलाई सहयोग गर्ने निश्कर्षमा पुग्छ। त्यही दिन गंगुले अन्डरवर्ल्ड डन  रहिमलाई राखी लगाएर दाइ बनाउँछिन्।

केही दिनपछि पठान फेरि गंगुलाई खोज्दै शीला मासीको कोठीमै आइपुग्छ। यसपटक पनि उसले गंगुमाथि शारीरिक अत्याचार गर्न खोज्छ। तर, समयमै रहिम कोठीमा आइपुग्छ। र, पठानलाई कामाठीपुराको बीच चौराहामा लिएर मर्नेगरी कुट्छ।

त्यसपछि गंगुको पहुँचदेखि सबै डराउँछन्। शीला मोसीमा पनि एक किसिमको त्रास छाउँछ। एकदिन शिला मासी आफ्नै कोठीमा मृत अवस्थामा भेटिन्छिन्। त्यसपछि त्यस कोठीमा रहेका हरेक यौनकर्मीहरू स्वतन्त्र हुन्छन्। सबैको सल्लाहमा गंगुलाई घरवाली शीलाको स्थानमा छनोट गरिन्छ। गंगुबाट २७ वर्षकै उमेरमा गंगुवाई बन्छिन् गंगा।

यस दिनदेखि उनको पहिरनमा पनि फरकपन आउँछ। सबैले चयन गरेको सेतो साडीमा रहन थाल्छिन् उनी। अब उनको काम देह व्यापार गर्ने होइन, देह व्यापार गर्ने अन्य महिलाका लागि ग्राहकसँग रकमको हिसाबकिताब गर्ने र उनीहरूको हकहितका लागि आवाज उठाउने हुन्छ। उनी त्यसैमा व्यस्त रहन थाल्छिन्।

केही दिनपछि कामाठीपुरामा प्रेसिडेन्टको चुनाव हुँदैछ। यसपटक गंगुवाईले पनि प्रेसिडेन्टका लागि उम्मेदवारी दिएकी छन्। तर, उनका लागि यो चुनाव सोचेजति सजिलो छैन। विगत दुई वर्षदेखि रजियावाई नै कामाठीपुराको चुनावमा जित हासिल गर्दै आएकी छन्। त्यसकारण पनि रजियालाई चुनावमा हराउन गंगुवाईका लागि सहज छैन।

यता मधुलाई रश्मीवाईबाट छुटाएर उनको घर पुर्‍याइदिने व्यवस्थासमेत मिलाइदिन्छिन् गंगुवाईले, जुन कामाठीपुराको लागि नयाँ कुरा थियो। कोठीमा बेचिएकी महिलालाई सम्मानपूर्वक घर पठाइदिनाले कामाठीपुरामा गंगुवाईको ख्याती अझ बढ्छ। एक हजारमा खरिद गरिएकी मधूलाई रश्मीबाट छुटाउन उनले १० हजार तिरेकी हुन्छिन्।

त्यही क्रममा गंगुवाईको भेट अफसान बद्र-उर-रज्जाकसँग हुन्छ, जो कोलकाताका दर्जी हुन्। उनी काकाबाट व्यापार सिक्न मुम्बई आएका छन्। काकासँगै गंगुलाई साडी देखाउन कोठी आइपुगेका अफसान पहिलो भेटमै उनलाई मन पराउन पुग्छन्।

कामाठीपुराको प्रेसिडेन्टको चुनाव पनि नजिकिँदै छ। जसरी भए पनि यस वर्ष आफू नै प्रेसिडेन्ट बन्‍ने अठोट गंगुवाईले लिएकी छन्।

चुनावमा जित हासिल गर्न गंगुवाईले दाइ मानेका रहिम लालासँग सहकार्य गर्छिन्। कामाठीपुरामा आउने रहिमको रक्सीको व्यापारमा गंगुवाई बिजनेस पार्टनर बन्छिन्, जसले उनको चुनावी एजेन्डामा केही बल पुग्छ। इदको मौकामा रहिमले गंगुवाईलाई निकै महँगो कार पनि गिफ्ट दिन्छन्।

कोठीभित्रै रक्सीको व्यापार हुँदैछ भन्‍ने जानकारी पाउना साथ रजियावाई प्रहरीलाई गंगुवाईको कोठीमा छापा मार्न लगाउँछिन्। तर, पैसाको बिटो मुखमा फालेपछि प्रहरी छापा नमारीकनै फर्कन्छन्।

रजियाले गंगुवाईलाई धेरै समयदेखि भेट्न खोजिरहेकी हुन्छिन्। तर, जहिल्यै अटेर गरेपछि एकदिन आफैं गंगुवाईले खाना खाइरहेकै होटेलमा आई उम्मेदवारीबाट पछि हट्न धम्की दिन्छिन्।

पछिल्लो दिन रजियाले भाषण कार्यक्रम राखेकी हुन्छिन्। तर, यता गंगुवाईको नयाँ चालले बाजी मार्छ। गोविन्द सेठसँग रिल मगाई सबै कामाठीपुराका महिलाहरूलाई जम्मा गरी फिल्म देखाउने कार्यक्रम राख्छिन्। गंगुले कामाठीपुरामै फिल्म देखाएपछि रजियावाईको भाषण सुन्‍न एक जना पनि आउँदैनन्। र, उनी निकै क्रोधित हुन्छिन्।

गंगुवाईकै कोठीमा काम गर्ने कुसुमकी १५ वर्षया छोरी छन्। कोठीमा आएका ग्राहकले रोशनीलाई देखेमा बाँकी राख्‍ने छैनन् भनी कुसुम रोशनीलाई अफिम सुँघाएर जहिल्यै बेहोश बनाएर राख्छिन्। यो उनको रहर होइन, बाध्यता हो।

कि त रोशनीले विवाह गर्नुपर्‍यो कि आमाजस्तै देह व्यापार। त्यसबाट पार लाग्‍न गंगुवाईले आफूलाई माया गर्ने अफसानकहाँ रोशनीको विवाहको रिस्ता लिएर जान्छिन्। तर, अफसान विवाहका लागि राजी हुँदैनन्। ३० तोला सुन र ५० हजार नगदको प्रलोभन देखाएपछि अफसानकी आमा बिहेको लागि सहजै सहमति दिन्छिन्।

अन्ततः गंगुवाई एक नयाँ इतिहास रचाउन सफल बन्छिन्। एक सामान्य घरको छोराको विवाह कोठीवालीकी छोरीसँग गराउन उनी सफल भइन्। गंगुवाईको कोठीमै बाजागाजासहित जन्ती आउँछ। र, मनमा पत्थर राख्दै प्रेमी अफसानको साथमा रोशनीलाई हाँसीखुशी विदाइ गर्छिन्।

यी सबै कुराले गंगुवाईको जित निश्‍चित हुन्छ। र, भारी मतले रजियावाईलाई हराउँदै कामाठीपुराको नयाँ प्रेसिडेन्ट बन्छिन्। उनको जितमा पूरा कामिठापुराले हर्षोल्लास मनाउँछ।

गंगुकै कोठीमा काम गर्ने महिला घर जाने इच्छा राख्छिन्। गंगुले खुशी हुँदै उनलाई विदा गर्छिन्। त्यो कुराले उनलाई पनि १२ वर्षपछि घरमा फोन गर्ने हिम्मत मिल्छ। फोन उनकी आमाले उठाउँछिन्। आमासँगको कुराबाट गंगुले आफ्नो बुवा नरहेको थाहा पाउँछिन्।

यसैबीच, गंगुवाईलाई नयाँ आपत आइलाग्छ। कामाठीपुरा नजिकै स्थापना भएको ‘सेन्ट एन्थोनी गर्ल्स हाइस्कुल’का बालिकाहरूमा गलत प्रभाव पारेको बताउँदै कामाठीपुरालाई त्यहाँबाट हटाउन हाइकोर्टमा मुद्दा दर्ता हुन्छ। तर, रहिमले हिम्मत नहार्न भनेपछि उनलाई केही बल पुग्छ।

गंगुवाई कामाठीपुरामा रहेका ५-६ बालिकालाई सँगै लिएर त्यही स्कुलमा भर्ना गर्न पुग्छिन्। तर, स्कुलले भर्ना लिन मान्दैन। शिक्षामा सबैको समान अधिकार छ, कामाठीपुराका बालिकाले पनि पढ्न पाए भोलि उनीहरू यौन व्यवसायीको साटो डाक्टर, इन्जिनियर हुने भन्दै जबर्जस्ती भर्ना गर्न लाउँछन्। तर, केही छिनमै सबै बालिकालाई कक्षामा बस्‍न नदिई कुटेर पठाइन्छ।

स्कुलमा भर्ना गर्न गएकै समयमा गंगुवाईको भेट पत्रकार अमिन फैजीसँग हुन्छ। त्यसको भोलिपल्ट पत्रकार फैजी गंगुका बारेमा थप जान्‍न उनको कोठी कामाठीपुरा पुग्छन्। उनले गंगुको प्रोफाइल लेख्‍ने सोचेका हुन्छन्। तर, उनलाई त्यहाँ नयाँ इस्यु मिल्छ। पढ्न नदिई स्कुलबाट खेदिएका बालिकासहित गंगुवाईको फोटो खिचेर वेश्यालयमा रहेका बालिकाको शिक्षाको हकबारे म्यागेजिनमा स्टोरी प्रकाशित गर्छन्, जसले भारतभर सनसनी मच्चाउँछ।

पत्रकार फैजीले एक भाषण कार्यक्रममा कामाठीपुराको बालिकाको शिक्षाको अधिकारका लागि भाषण दिन गंगुवाईको नामसमेत टिपोट गरिदिन्छन्। उक्त कार्यक्रममा राजनीतिज्ञसहित समाजका गंगुवाई र सर्वसाधरण गरी ४ सयजनाको उपस्थिति हुन्छ। उक्त कार्यक्रममा गंगुवाईले सबैको बोली नै बन्द गरिदिन्छिन्।

भाषणमा गंगुले कामाठीपुराका बालिकाको शिक्षाको अधिकारका पक्षमा मात्र आवाज उठाउँदिनन्, यदि कामिठापुरा नरहने भने समाज जंगल हुने र हरेक महिला बलात्कारको शिकार हुने खतरा रहेको  बताउँछिन्। कामाठीपुराका यौनकर्मीहरूले समाजको पहरेदारको भूमिका वहन गरेको भन्दै आफूलाई वेश्या हुनमा त्यतिकै गर्व छ, जति एक व्यक्तिलाई आफू डाक्टर वा इन्जिनियर हुनमा हुने तर्क गर्छिन्। उनको कुराले त्यहाँ उपस्थित सबैले सम्मान गर्दै बेजोड ताली बजाउँछन्।

आफ्नो हकहितको माग गर्नकै लागि गंगुवाई कामाठीपुराबाट भारतका प्रधानमन्त्रीलाई भेट्न दिल्ली जान्छिन्। १५ वर्षपछि उनी पहिलोपटक कामिठापुराबाट बाहिरिँदै हुन्छिन्।

प्रधानमन्त्रीसँगको भेटमा उनी वेश्यावृत्तिलाई कानूनी मान्यता दिन माग गर्छिन्। तर, समाजको हितमा वेश्यावृत्ति नभएकाले प्रधानमन्त्रीले  गंगुवाईको कुरा सोझै अस्वीकार गर्छन्। जबसम्म समाज रहन्छ, तबसम्म वेश्यावृत्ति रहने गंगुवाईले समझाउन खोज्छिन्। आफूहरूले कुरा गर्दै गर्दा पनि कहीं न कहीं कुनै महिलालाई किन्‍ने र बेच्‍ने क्रम चलिरहेको हुन सक्ने उल्लेख गर्छिन्। र, सजाय बिक्री गर्ने व्यक्तिको साटो बेचिने महिलालाई हुने जवाफ दिन्छिन्।

त्यति मात्र होइन, बाध्यताले वा जबर्जस्ती यौनकर्मी बनाइएका महिलाहरूलाई स्कुल होस् या अस्पताल, बैंंक होस् या रासनको लाइन, आमाको कोख होस् या बुवाको आँगन, सबै हकबाट वञ्‍चित गरिने बलियो  तर्क दिन्छिन्। त्यहाँसम्म त ठीकै थियो। यौनकर्मीहरूको घर कामाठीपुरा नै खाली गराउन अदालतमा मुद्दा दायर भएकाले त्यहाँका ४ हजार महिलाले कहाँ जाने भन्दै प्रश्न राखेपछि प्रधानमन्त्री निःशब्द हुन्छन्।

प्रधानमन्त्रीले उनको कुरा सुनिसकेपछि कमिटीको बैठक बसाएर उनको मागबारे छलफल गरिने बताउँछन्। र, उनको माग सुनुवाइ हुन्छ। कामाठीपुराका ४ हजार यौनकर्मी महिलाको हकहितका लागि प्रधानमन्त्रीलाई भेट्न दिल्ली पुगेकी गंगुवाईले फेरि अर्को इतिहास बदल्न सफल हुन्छिन्। बेघर हुन लागेका कामाठीपुराका ४ हजार महिलालाई घर दिलाउन उनी सफल भइन्। र, यौन पेशालाई कानूनी मान्यता दिलाउन कोशिस पनि गरिन्।

जब अदालतले कामाठीपुरालाई खाली नगर्न आदेश दियो, त्यहाँका ४ हजार महिलाहरूले उत्सव मनाए। र, त्यो उत्सवमा गंगुवाई न्यायाधीश जीवनदास काठियवाडीलाई भगवानजस्तै पूरै कामाठीपुराको सयर गराउँछिन्। एक व्यक्ति अलग-अलग पहिचान ! गंगुवाई कसैका लागि माफिया, कसैका लागि बहिनी, कसैको साथी अनि कसैको आमा बनिन्।

भारतमा फिल्मको पोस्टर हरेक शुक्रबारमा बदलिन्छ। तर, भनिन्छ- हिरोइन बन्‍न मुम्बुई छिरेकी गंगा उर्फ गंगुवाईको पोस्टर कामाठीपुराको भित्तामा अहिले पनि टाँसिएको छ।

०००

फिल्म ‘गंगुवाई काठीयावाडी’लाई नामी निर्देशक सञ्‍जयलीला भन्सालीले निर्देशन गरेका हुन्। फिल्मको कथा हुसेन फैदीको पुस्तकबाट लिइएको हो।

१६ फेब्रुअरी २०२२ मा प्रदर्शनमा आएको यो फिल्म सय करोडमा निर्माण भएको थियो भने २०९ करोड कमाइ गरेको थियो।

यस फिल्ममा मुख्य भूमिकामा आलिया भट्ट छिन्, जो गंगुवाई काठीयावाडीको भूमिकामा छिन्। यस्तै, अभिनेता अजय देवगनले रहिम लालाको भूमिकामा छन्। उनको भूमिका अफगान मूलका दक्षिण मुम्बईका माफिया डनको छ।

यस्तै, शान्तनु महेश्‍वरीले अफसान बद्र-उर-रज्जाक र विजय राजले रजियावाईको भूमिका वहन गरेका छन्। कमलीको भूमिकामा इन्दिरा तिवारी, शीलाको भूमिकामा सीमा पाहवा छन्।

वरुण कपुरले रमनिक लाल, जिम सरभले पत्रकार हमिद फैजी र राहुल बोहराले प्रधानमन्त्री (जवाहरलाल नेहरू)को भूमिका वहन गरेका छन्।

यो सिनेमाले विभिन्‍न अवार्ड जितेको छ। ६९ औं राष्‍ट्रिय चलचित्र पुरस्कारमा आलिया भट्टले उत्कृष्‍ट अभिनेत्री र सर्वश्रेष्‍ठ पटकथामा निर्देशक सञ्‍जयलीला भन्सालीसहित ५ पुरस्कार जित्यो। यस्तै, ६८औं फिल्मफेयर अवार्ड्समा प्रमुख १७ नामांकन प्राप्त गर्‍यो र प्रमुख ११ अवार्डहरू जित्यो, जसमा सर्वश्रेष्‍ठ फिल्म, सर्वश्रेष्‍ठ निर्देशक (भन्साली), र सर्वश्रेष्‍ठ अभिनेत्री आलिया भए।

शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.