काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेसले आफूले धूलो लागेको फाइल टकटक्याउन लागेको थाहा पाएर आफ्नो राजीनामा मागेको बताएका छन्।
इलाममा आयोजित रास्वपाको चुनावीसभालाई सम्बोधन गर्दै उनले आफूले फाइल खोल्न थालिसकेको र चुनावको कारण पूरा गर्न नभ्याएको बताएका छन्। उनले अब चुनावको आचारसंहिता लाग्ने भएकोले बोल्न नमिलेको तर चुनाव सकिने बित्तिकै राजीनामाको सट्टा कांग्रेसले सोच्दै नसोचेको परिणाम आउने बताए।
उनले भने, “धूलो लागेको फाइल टकटक्याउँदैछ भन्ने थाहा पाएर तपाईंहरूले राजीनामा माग्नुभएको कुरा मलाई राम्रोसँग थाहा छ । पख्नुस्, आउँछ राजीनामा। दुईचार वटा काम गर्न दिनुस् चाँडै नै। चुनाव अगाडि भ्याइन्थ्यो कि भन्ने थियो, भ्याइएन। तर, चिन्ता गर्नुपर्दैन। अहिले धेरै भन्न मिल्दैन, आचारसंहिता लाग्छ। चुनाव सकियोस्, मलाई राम्रोसँग थाहा छ।”
गृहमन्त्री लामिछानेले आफूले जनताको चाहना बुझेको र कस-कसलाई कुन कुन केसमा कहाँ पठाउने भन्ने आफूलाई राम्रोसँग थाहा भएको बताए। उनले अनुसन्धान गर्दागर्दै रोकिएको फाइलहरू र अनुसन्धान गरिएका प्रहरीलाई कहाँकहाँ सारियो सबै थाहा भएको बताए। उनले भने “तपाईंहरू कसलाई कारबाही गरेको हेर्न चाहनुहुन्छ, मलाई राम्ररी थाहा छ। कुनकुन फाइल अनुसन्धान गर्दागर्दै बन्द गरिए? अनुसन्धान गरिएका प्रहरीलाई कहाँ सारियो? सबैलाई थाहै छ।”