कैलाली– मेडिकल सिटीको रुपमा विकास भइरहेको धनगढीमा रगतको अभाव हुन थालेको छ। जिल्लामा भएका ठूला अस्पतालहरूमा रगतको खपत बढेपछि रगतको अभाव हुन थालेको हो।
जिल्ला रेडक्रस सोसाइटी कैलालीका अनुसार बढ्दो गर्मिका कारण अस्पतालहरूमा बिरामीको संख्यामा वृद्धि हुँदा रगतको माग धेरै भएका कारण रगत अभाव भएको हो। साथै रक्तदान कार्यक्रम समेत विगतको तुलनामा निकै कम भइरहेको रक्तसञ्चार केन्द्र धनगढीले जनाएको छ।
धनगढीमा दैनिक औसत ४५ पिन्ट युनिट रगतको आवश्यकता पर्छ। माग अनुसारको आपूर्ती गर्न निकै कठिनाइ भइरहेको प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख धरणीधर पन्तले बताए। रगतको माग ह्वात्तै बढ्दा निकै सास्तीका साथ व्यवस्थापन गरिरहेको पन्तले बताए।
नियमित रक्तदान गर्नेहरूको तीन महिनाको अवधि नपुगेका कारणले पनि समस्या भएको केन्द्रका प्रमुख पन्तले बताए।
बिरामीका आफन्तहरू रगतको अभावमा यत्रतत्र भौंतारिने गरेको पाइन्छ। रगत उपलब्ध गराउन पहुँच हुनेहरूलाई सजिलो र अन्यलाई समस्या हुने गरेको गुनासो समेत आउन थालेको छ।
धनगढीमा हाल सेती प्रादेशिक अस्पताल सहित आधा दर्जन अन्य ठुला निजी अस्पताल छन्। यहाँका अस्पतालहरूको सेवा पछिल्लो समयमा विशिष्टीकृत हुँदै गएकोले रगतको माग पनि बढ्दै गएको पन्तले बताए।
सरकारी र निजी अस्पतालहरुले रगत मात्रै माग गर्ने तर रक्तदानका लागि जनचेतना अभिवृद्धिका काम गर्न नसकेको आरोप पनि लाग्दै आएको छ।
स्वयंसेवी रक्तदाताहरुको प्रयास र केही बिरामीका आफन्तहरु स्वयंले रक्तदान गर्ने बाहेक नियमित रक्तदानका कार्यक्रमहरु नहुदा जिल्लामा रगतको अभाव देखिएको नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका अध्यक्ष बासुदेव बिनाडीले बताए। उनले रेडक्रस एक्लैले मात्रै समस्याको समाधान गर्न नसक्ने हुँदा सरोकारवाला सबैलाई पालैपालो रक्तदानका कार्यक्रम आयोजना गर्न आग्रह गरे।
संचारकर्मी तथा स्वयंसेवी रक्तदाता दीपक उपाध्यायले आफुलाई दैनिक १०/१२ कल फोन रगत ब्यबस्थापनका लागि आउने गरेको बताए। उनले रेडक्रससंग समन्वय गरि आफुजस्तै स्वयंसेवी रक्तदाताहरु जुटाई रगतको ब्यबस्थापन गरिरहेको बताए।
जिल्लामा पछिल्लो समयमा ताजा रगतको माग बढ्दै गएकोले रक्तदाताहरुको सूचीसमेत तयार गर्न थालिएको बताउदै रगत ब्यबस्थापनका लागि एउटा मोबाइल एपको समेत निर्माण अन्तिम चरणमा पुगेको बताए।