काठमाडौं- आज २२ अप्रिल। विश्व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९९७- टुपाक अमारु बन्धक प्रकरण अन्त्य
दक्षिण अमेरिकी मुलुक पेरुको राजधानी लिमास्थित जापानी दूतावासमा विद्रोही समूह टुपाक अमारुका लडाकुले बनाएका बन्धकलाई १२६ दिनपछि आजै मुक्त गरिएको थियो। दूतावासमा प्रवेश गरेका १४ लडाकुले त्यहाँ एकत्रित उच्चस्तरीय कूटनीतिज्ञ, सरकारी र सैनिक अधिकारी र व्यापारिक समुदायका प्रतिनिधिलाई बन्धक बनाएका थिए। जापानी सम्राट अकिहिटोको ६३औं जन्मोत्सव मनाउन राजदूत मोरिहिसा आओकीको निवासमा भेला भएका सबैलाई लडाकु समूहले बन्धक बनाएको थियो। १२६ दिनपछि उनीहरूलाई मुक्त गराउँदा १ बन्धक, २ सैनिक र १४ लडाकु गरी १७ जनाको ज्यान गएको थियो।
– सन् १९९२- मेक्सिकोमा ग्यास लाइन विष्फोट, २०६ को मृत्यु
सन् १९९२ मा आजकै दिन मेक्सिकोको ग्वाडलाजारा शहरमा भएको ग्यासोलाइन विष्फोटमा परी २०६ जना मारिएका थिए। घटनामा करिब ५०० जना घाइते भएका थिए। र, १५ हजार मानिस घरबारविहीन भएका थिए। शहरबाट १० ठाउँमा विष्फोट भएको थियो।
– सन् १९७७- टेलिफोन ट्रान्समिसनमा अप्टिकल फाइबर प्रयोग
सन् १९७७ मा आजकै दिन पहिलोपटक टेलिफोन ट्रान्समिसनमा अप्टिकल फाइबरको प्रयोग भएको थियो। फाइबर अप्टिक प्रविधिले प्रकाश तरंगहरूको माध्यमबाट लामो दूरीसम्म सूचना पठाउन मद्दत गर्छ। यसलाई आधुनिक सञ्चार प्रणालीको विकासमा कोशेढुंगा मानिन्छ।
– सन् १९४५- जर्मन तानाशाह हिटलरले गरे हार स्वीकार
सन् १९४५ मा आजकै दिन जर्मनीका तानशाह हिटलरले हार स्वीकार गरेका थिए। उनी पछि बंकरमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए।
– सन् २००६- नेपालमा लोकतन्त्र समर्थकहरू माथि सेनाको गोली
तत्कालीन राजा ज्ञानेन्द्रको तानाशाही शासनविरुद्ध नेपालमा शुरु भएको लोकतन्त्रवादीहरूको प्रदर्शनमा सेनाले गोली चलाएको थियो। सेनाको गोली लागेर सयौं घाइते भएका थिए। सोही आन्दोलनका कारण राजा ज्ञानेन्द्रले शुरु गरेको तानाशाही शासनको मात्र अन्त्य भएन, उनले गद्दीबाट पनि च्युत हुनुपर्यो। र, नेपालमा गणतन्त्रको स्थापना भयो।
– सन् २००४- २ रेल ठोक्किँदा मारिए डेढ सय
उत्तर कोरियामा सन् २००४ मा आजकै दिन दुईवटा रेल ठोक्किँदा १५० जनाको ज्यान गएको थियो। उक्त घटना र्योङचोन शहरमा भएको थियो।