काठमाडौं- जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष पुग्न लाग्यो । सन् २०१५ मा चट्याङका कारण बिग्रिएपछि मौसमी बम्लर राडार बिग्रिएको थियो । तर अहिलेसम्म विज्ञको अभावमा मर्मत हुन नसकेको विभागले जनाएको छ ।
विभागका अनुसार हाल नेपालमा तीन स्थानमा मौसमसम्बन्धी जानकारी दिने राडार छन् । सोहीमध्येको सुर्खेतको राडार बिग्रिएपछि हाल बाँकी दुई वटामात्रै सञ्चालनमा छन् । विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले उक्त राडार मर्मतका लागि बोलपत्र आह्वान भए पनि विज्ञ अहिलेसम्म भेटिएको छैन । ‘पहिले एकपटक बोलपत्र आह्वान गरेका थियौँ तर त्यो समयमा कसैको आवेदन परेन, अहिले फेरि बोलपत्र खुलाउने तयारी छ,’ उनले भने ।
उनका अनुसार नेपाली विज्ञले मर्मत गर्न नसकेपछि विदेशी विज्ञको खोजी भइरहेको छ । ‘यसपटक केही सर्तहरु परिवर्तन गरे बोलपत्र आह्वानको तयारी भइरहेको छ,’ उनले भने । उनका अनुसार सो राडार मर्मत गर्न रु १९ करोड लाग्ने अनुमान गरिएको छ । राडार मर्मतका लागि छनोट भएको विज्ञ समूहले कम्तीमा पनि साढे दुई वर्षसम्मको जिम्मा लिनुपर्ने हुन्छ । उनले भने, ‘यी राडारले दुई सय किलोमिटरमाथिसम्मको हावाको गति थाहा पाउने र पानी पर्छ कि पर्दैन ? भन्ने पूर्वानुमान गर्न सहज हुनुका साथै वायुमण्डलको हावामा हिउँको मात्रा थाहा पाउन सहज हुन्छ ।’
त्यतिमात्रै होइन, चट्याङ पूर्वानुमान गर्न सहज गर्ने माध्यम ‘लाइटिङ नेटवर्क स्टेसन’ पनि बिग्रिएको अवस्थामा छ । सो मर्मतका लागि विदेशी विज्ञकै आवश्यकता पर्ने उनको भनाइ छ । कर्माचार्यका अनुसार हाल नेपालमा यस्ता स्टेसन नौ वटा छन् । ‘यी स्टेसनले २० मिनेटअघि कुन स्थानमा चट्याङ पर्दैछ भन्ने कुरा जानकारी दिन सहयोग पुग्नेछ । साथै चट्याङसम्बन्धी पूर्वसूचना प्रवाह गरेर जनताको जीउ धनको सुरक्षा गर्न सहयोग पुग्ने हुन्छ,’ उनले भने, ‘तर यसको पनि एकीकृत प्रणालीमा समस्या आएपछि अहिले यो प्रणाली पनि नचलेको अवस्थामा छन् । जसले गर्दा हाल नेपालको आफ्नै चट्याङ्का घटना पूर्वानुमान गर्ने यन्त्र नै सञ्चालनमा छैन ।’
उक्त स्टेसन मर्मत गर्नका लागि पनि विदेशी विज्ञबिना सम्भव नहुने भए नहुने उहाँको भनाइ छ । यसका लागि रु दुई करोड लाग्ने कर्माचार्यको अनुमान छ ।
स्वदेशी स्टेसन सञ्चालन नभएपछि हामी यसका लागि छिमेकी मुलुकको सहयोग लिनुपर्ने अवस्थामा रहेको उनले सुनाए । ‘नेपालमा चट्याङको अवस्था थाहा पाउनका लागि हामीले ‘साउथ एसियन लाइटिङ नेटवर्कसँग’ समन्वय गरिरहेका छौँ । यस नेटवर्कमा नेपालकोतर्फबाट श्रीराम शर्मा हुनुहुन्छ । भारतीय मौसम विज्ञान विभाग र स्याटालाइटको सहायताबाट हाल चट्याङको जानकारी लिइरहेका छौँ,’ उनले भने, ‘हाम्रो प्रणाली सुधार नहुञ्जेल यसैगरी चट्याङ्सम्बन्धी पूर्वानुमान गर्नेछौँ । तर जतिसक्दो छिटो हामी प्रणाली सुधारमा लागिरहेका छौँ ।’
त्यतिमात्रै होइन मौसमी बेलुनमा समस्या देखिएको पनि धेरै भइसकेको छ । जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त सहकार्यमा विसं २०७५ असार ६ गतेदेखि कीर्तिपुरबाट मौसमी बेलुन उडाइएको थियो । त्यसदिनदेखि नियमितरुपमा बिहान ५ः३० बजे यस्ता बेलुनहरु सोही स्थानबाट उडाइने विभागले प्रतिबद्धता जनाएको थियो ।
विश्व मौसम सङ्गठनका अनुसार मौसम तथ्याङ्क लिन दिनमा दुईपटक मौसमी बेलुन उडाउनुपर्ने हुन्छ । तर बजेट अभाव कारणले दिनमा एकपटक उठाउँदै आइएको मौसमी बेलुन हाल दैनिक एकपटक पनि उडाउन सकिएको छैन । ‘एकपटक बेलुन उडाउँदा दैनिक रु ५० हजारका दरले मासिक १५ लाख लागत लाग्छ । दुई पटक उडाएमा मासिक रु ३० लाख खर्च हुन्छ,’ महानिर्देशक कर्माचार्यले भने, ‘बेलुनलगायतका आवश्यक सामग्री किन्न दैनिक ५० हजार खर्च हुन्छ, किनभने एकपटक उठाइसकेको बेलुन काम लाग्दैन ।’
Advertisement