काठमाडौं– बिपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध-२ मा यात्रुवाहक बस र टाटा सुमो एक-आपसमा ठक्कर खाँदा सातजना घाइते भएका छन्।
बिहीबार दिउँसो नमोबुद्ध नगरपालिका-२ बेलास्थित सडकमा भकुण्डेबाट धुलिखेल आउँदै गरेको बा.३ख ८१५५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना.१ज ४३७७ नम्बरको सुमो एक-आपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।
घाइते भएका सुमोका चालकसहित सातै जना सुमोमा सवार यात्रु रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि तत्कालै धुलिखेल अस्पताल पठाइएको छ।
घाइते हुनेहरूमा महोत्तरी बर्दिवासकी ५२ वर्षीया रासुदेवी महरा, ४८ वर्षीया सुमिन्द्रदेवी, महोत्तरीकी ३९ वर्षीया दुर्गा बराइली, महोत्तरीकै ३४ वर्षीय सुमन विक, सर्लाहीको लालबन्दीकी ३५ वर्षीया सबिना थपलिया, थपलियाकी छोरी आठ वर्षीया सन्हया थपलिया र सुमो चालक धनुषा का ५५ वर्षीय विशेश्वर बुर्गामगर छन्।
बस र सुमो प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनाको बारेमा आवस्यक अनुसन्धान गरिरहेको जनाएको छ।