काठमाडौं- ‘तिम्लाई थाहा छ, भेल्लरको रुखमा झुण्डिएर आत्महत्या गरेकाहरू मध्यरातमा डराउँछन् रे नि त,’ साथी कल्पनाले भनी। म थोरै हड्बडाएँ।
उसको कुरा सकिन नपाउँदै पूजाको ममी (लक्ष्मी भाउजू) ले थपिहालिन्, ‘हो त ! हिजो राति करिब १ बजेको हुँदो हो। फलानाको बुहारीले छोरा जन्माइछिन्। अस्पतालबाट मुलकुलो हुँदै गोरुगाडामा घर लैजाने क्रममा भेल्लरको रुखनिर पुग्नासाथ एक्कासी गोरुगाडा रोकियो रे। अनि भर्खरै जन्मेको नवजात शिशू पनि बेस्सरी चिच्चायो रे। धन्न त्यही गोरुगाडामा धामी (देउता आउने व्यक्ति) थिए। गोरुगाडा रोकिनेबित्तिकै तिनलाई देउता आयो रे ! अनि ती धामीले गाडाबाट आर्लिएर रुखनिर के तन्त्रमन्त्र गरेछन् कुन्नि, त्यसपछि मात्र गोरुगाडी चल्यो रे !’ भाउजूको कुराले मेरो सातो उड्यो।
कुरा करिब ७-८ वर्षअघिको हो। असार-साउनको महिना हुँदो हो। कल्पना (मेरो गाउँकी साथी), लक्ष्मी भाउजू र मेरो एकसाथ महिनावारी भयो। छिमेकी सीताको छाउगोठमै हामीले महिनावारी बारिरहेका थियौं। खाना खाएर सुत्ने क्रममा कल्पनाले मेरो घरभन्दा करिब ५-७ मिनटको दूरीमै एक महिनाअघि झुण्डिएर आत्महत्या गरेका अन्दाजी ४०-४५ वर्षका जोडीको कुरा निकाली।
उसले रातको समयमा त्यो रुखबाट अजिबोगरिब आवाज आउने र तर्साउने कुरा गरी। आत्महत्या गरेको भेल्लरको रुख मसँगै महिनावारी बारिरहेकी लक्ष्मी भाउजूको घरबाट झनै नजिक पर्थ्यो। उनले पनि कल्पनाको कुरामा सही थाप्दै अघिल्लो रातिको घटनाबारे बढाई-चढाई गरी सुनाइन्। थाहा छैन, उक्त घटना कत्तिको सत्य थियो। न त त्यो घटनाको प्रत्यक्षदर्शी लक्ष्मी भाउजू नै थिइन्। अरूबाट सुनेकै भरमा उनले पनि हामीलाई सुनाइरहेकी थिइन्।
त्यो समयमा भूत भन्नेबित्तिकै खुब डर लागेर आउँथ्यो। राति सपनीमा देख्छु भन्ने डरले गर्दा म गाउँमा कसैको मृत्यु भयो भने पनि जाँदिनथें। तर, त्यो दिन साथी सुनिताले निकै कर गरेपछि हेर्न गइहालें। दिउँसो अनि सबैको भीडमा आत्महत्या गरेको जोडीलाई हेर्न मलाई खासै डर लागेन। तर, त्यस दिनपछि अँध्यारोमा घरबाट निस्कन भने मलाई निकै डर लाग्न थाल्यो।
आत्महत्या गरेका अधबैंसे जोडी मेरो गाउँका थिएनन्। प्रेम सम्बन्धमा रहेका विवाहित जोडी डोटीबाट भागेर आएको भन्ने कुरा त्यो समयमा चलेको थियो। उनीहरूको बारे करिब एकआध घण्टा कुरा गर्दागर्दै कल्पना र लक्ष्मी भाउजू भुसुक्कै निदाइहाले। डरले त्राही-त्राही भइसकेकी मलाई निन्द्रा पर्ने त कुरै थिएन। अरू भन्थे- निन्द्रा नपरुन्जेल हो डर लाग्ने। निन्द्रा परेपछि त के हो के थाहा हुँदैन। तर, मेरो बानी ठ्याक्कै उल्टो, मलाई डर लाग्यो भने निन्द्रा नै लाग्दैन।
डरले मेरो मुटुको धड्कन झन्-झन् बढ्दै थियो। मेरो आँखामा आत्महत्या गरेका ती जोडीको आकृति झलझली आउन थाल्यो।
उसो त, म डराउँछु भनेरै मलाई बीचमा सुताइएको थियो। ढोका छेउमा लक्ष्मी भाउजू अनि भित्तातिर कल्पना सुतेकी थिई। होचो अनि साँघुरो छाउगोठको ढोका थिएन। पलेंटी कसेर बसौं भने पनि टाउकोमाथि ठोकिन्थ्यो। ४ जनालाई सुत्न हुने छाउगोठमा कहिले एक्लै त कहिले ५-६ जना एकसाथ महिनावारी हुँदा कोचाकोच गरेर सुत्नुपर्थ्यो।
मेरो गाउँमा बनाइएका छाउगोठ कुनैको ढोका थिएन। कारण के थियो भन्ने मैले त्यो समयमा जान्ने कोशिस पनि गरिनँ। असार-साउनको गर्मी उस्तै थियो। ढोका नहुँदा गर्मीमा पातलो पारदर्शी कपडाको पर्दा लगाउँथ्यौं भने जाडोमा अलि मोटो लुगा झुण्डाउँथ्यौं। त्यो राति पनि अत्यधिक गर्मी थियो। त्यसकारण मैले बारम्बार भन्दा पनि लक्ष्मी भाउजूले ढोकामा पर्दा लगाउन नि मान्नु भएन।
बीचमा सुतेकी मेरो नजर भने बारम्बार ढोकातिरै गइरहेको थियो। जुनेली रात थियो। टहटह जूनको उज्यालोमा बाहिरको दृश्य प्रष्टै देखिन्थ्यो। मलाई समय-समयमा आत्महत्या गरेका जोडी छाउगोठको ढोका बाहिरबाट मलाई नै चियाउँदै छन् भन्ने भान हुन्थ्यो। बारम्बार ढोकातिर नजर जान थालेपछि मैले डरलाई जित्न त्यो गर्मीमा पनि गुटुमुटु ब्ल्याङ्केट ओढेर निदाउने कोशिस गरें। तर, अहँ निन्द्रै लागेन।
कल्पनासँग सानो नोकिया फोन थियो। कति बज्यो भन्दै समय-समयमा मोबाइलमा आँखा डुलाउँथे। हेर्दाहेर्दै ११-१२ पनि बज्यो। उनीहरू भने मस्त निन्द्रामा थिए। रातको शान्त वातावरणमा कुकुरहरूको भुकाइ झनै भयानक सुनिन थाल्यो।
उसो त, भूतदेखि डराउने भए पनि मैले डिसहोममा बलिउड हरर मुभी हेर्न भने कहिल्यै छुटाइनँ। हरर मुभीमा डरलाग्दो आवाज हुन्छ भनेर भाइ र म साउन्ड सानो बनाएरै भए पनि हेर्थ्यौं। मुभीमा भूत मध्यरातमा जागृत भएको देखाइन्थ्यो।
समयले १२ बजाएपछि मेरो डर बढेर दुई गुणा भयो। कुकुरको भुकाइ झनै बाक्लिन थाल्यो। कुकुरको भुकाइअनुसार मेरो मुटुको गतिले पनि त्यस्तै मुड लियो। अब मुभीजस्तै अजिब-अजिब आवाज पनि सुनिने त होइन भन्दै मैले कानमा औंला हालेर निदाउने प्रयास गरें। अहँ न त निन्द्रा नै लाग्यो, न डर भाग्यो।
केही छिनपछि सीताकी ममीले बाहिरको बत्ति जलाइन्। मैले मोबाइलमा समय हेरें, बिहानीको ४ बजिसकेछ। बिहानी भएको संकेत पाएपछि मेरो मनलाई केही राहत मिल्यो, पलमै डर हरायो। र, रातभरि ननिदाएकी म कल्पना र लक्ष्मी भाउजू उठ्ने समयमा बल्ल सुतें।
०००
म कक्षा ८ मा पढ्दो हुँ। त्यो समयमा मेरो आफ्नै घरमा महिनावारी बार्नकै लागि आँगनको डिलमा छुट्टै छाउगोठ बनाइएको थियो। मेरो भर्खरै महिनावारी शुरु भएको थियो। महिनावारी हुँदा मलाई कुर्न ममी जहिल्यै आँगनमा खाट लगाएर सुत्नु हुन्थ्यो। त्यो दिन मम्मी मामाघर जानुभएको थियो। मलाई कुर्न दिदी पाल्कीमा सुत्नुभयो।
मध्यरातमा एक्कासी डरलाग्दो आवाजले मेरो निन्द्रा खुल्यो। समय हेरौं भने पनि त्यो समयमा मसँग न घडी नै थियो, न मोबाइल। मान्छे रोएकोजस्तै आवाज छाउगोठको पछाडीपट्टिबाट आउँदै थियो। त्यो आवाजले म निकै डराएँ। मलाई लाग्यो आज मेरो अन्तिम दिन हो।
जसको काल आउँछ उसले मात्रै अजिबोगरिब आवाज सुन्छ भन्ने कुरा अग्रजबाट सुनेकी थिएँ। लाग्यो- भोलि देख्न पाउँदिनँ। मैले डराई-डराई विस्तारै दिदीलाई बोलाएँ। अफसोच पंखाको आवाजले मस्त निन्द्रामा रहेकी दिदीसम्म मेरो आवाज पुगेन।
मैले ओढ्नेले गुटुमुटु मुख छोप्दै त्यो आवाजलाई बेवास्ता गर्ने कोशिस पनि गरें। तर, हरेक ५-७ मिनटको फरकमा फेरि रोएजस्तै आवाज सुनिन थालेपछि मेरो डर दोब्बर भएर आउँथ्यो। भोलिको दिन देखुँला भन्ने मेरो कल्पनाबाट टाढा थियो। मलाई स्मरण छ, त्यो रात पनि मैले डराएर नसुतेरै छाउगोठमा कटाएकी थिएँ।
भोलिपल्ट मेरो लागि नयाँ बिहानी थियो। म दिदीलाई रातिको कुराबारे सुनाउँदै बेस्सरी रोएँ। त्यो रात्रिपछिका ३ रात छाउगोठमा कटाउन बाँकी नै थियो। त्यो रातपछि एक्लै छाउगोठमा सुत्न सक्ने हिम्मत ममा थिएन। यसकारण पनि साथी लक्ष्मीलाई उसको महिनावारी पालामा कुरी दिने शर्तमा आफूसँगै सुतिदिन आग्रह गरेपछि उ मलाई छाउगोठमा कुर्न आएकी थिई।
०००
यो त मेरो छाउगोठको तीतो अनुभव हो, जुन मैले भूतप्रतिको डरको कारण भोग्नुपर्यो। तर, मैले महशुस गरेको पीडा ती दिदी-बहिनीका अघि केही पनि होइन, जसमध्ये कतिले बलात्कृत त कतिले छाउगोठमा महिनावारी बार्दा मृत्युवरण गर्नुपर्यो।
म जन्मे-हुर्केको कञ्चनपुर जिल्ला। जहाँ गर्मीमा अति गर्मी त जाडोमा अति जाडो हुन्छ। गर्मीमा घरभित्रै बस्न मुस्किल पर्ने मेरा गाउँका आमा, दिदी-बहिनीले साँघुरो छाउगोठमा महिनावारी बार्नुपर्थ्यो। गाउँमा बिजुली आइसकेको भए पनि छाउगोठमा भने गर्मी छल्न न पंखाको नै व्यवस्था हुन्थ्यो, न त उल्यालोको लागि कुनै बत्ति। यसो हुँदा गर्मीमा अति गर्मी भएर त जाडोमा कठ्यांग्रिएर धेरै महिलाले छाउगोठमा ज्यान गुमाउनुपर्थ्यो।
अँध्यारो अनि साँघुरो छाउगोठमा हरेक महिनाको ५-६ दिन कटाउन निकै हम्मेहम्मे पर्थ्यो। त्यसमाथि तराईमा गर्मीयाममा सर्पको बिगबिगी त्यस्तै। गर्मी चाँडै हुन थालेको वर्ष फागुनबाटै खेत, बारीमा देखिन थालेका सर्पहरू जाडो नबढ्दा कात्तिकसम्म पनि देखिन्थे। त्यो समयमा धेरैका पक्की घर निर्माण भइसकेका थिएनन। माटोबाट निर्मित घरभित्रै पसेर सर्पले डसेर मृत्यु भयो भन्ने समाचार खुब सुन्न पाइन्थ्यो।
यसो हुँदा छाउगोठमा महिनावारी बार्ने महिलाहरूका लागि त्यो समयमा सर्प झनै ठूलो चुनौती थियो। छाउगोठमा महिनावारी बारिरहेकी युवतीको सर्पले डसेर मृत्यु भन्ने खबर आसपासकै गाउँमा सुनिन्थे। छाउगोठमा ढोकाको व्यवस्था नहुँदा त्यो समयमा केही दिदीबहिनीले बलात्कृत पनि हुनुपर्यो।
फेरियो गाउँ, फेरियो संस्कार
२०७४ सालको निर्वाचनपछि भने मेरो गाउँमा आमूल परिवर्तन आएको मान्न सकिन्छ। तत्कालीन निर्वाचित जनप्रतिनिधिहरूले परम्परादेखि चल्दै आएको छाउपडी प्रथा अन्त्य गर्ने हेतुले प्रहरीको सहयोगमा गाउँमा निर्माण गरिएका छाउपडी गोठ धमाधम भत्कायो।
पालिकाबाटै छाउपडी गोड भत्काइन थालेपछि कतिले जनप्रतिनिधिहरूको विरोध गर्दै फेरि छाउगोठ पुनर्निर्माण गर्ने काम पनि गरे। पुनः छाउगोठ निर्माण गरिएको सूचना पाएपछि पालिकाद्वारा फेरि भत्काइएको थियो। त्यसपछि भने गाउँमा कसैले छाउगोठ बनाउने हिम्मत गरेनन्।
अहिले गाउँमा कसैको घरमा छाउगोठ छैन। यसको मतलव मैले गाउँबाट छाउपडी प्रथा नै हटिसक्यो भन्न खोजेको होइन। तर, पहिलेभन्दा निकै परिवर्तन आएको छ। छाउगोठ हुँदा आँगनको डिलमै सीमित हुनुपर्ने महिलाहरूका लागि महिनावारी बार्न घरकै एक छुट्टै कोठामा बस्न खाने व्यवस्था गरिएको छ।
यसकारण पनि पहिलेजस्तो अहिले अत्यधिक गर्मी र जाडोले कठ्यांग्रिएर महिनावारी बारिरहेकी महिलाको मृत्यु भयो भन्ने समचार गाउँमा खासै सुनिँदैन। अहिले महिनावारी बार्ने कोठामै गर्मी छल्न पंखाको व्यवस्था छ। र, जाडोमा प्रयोग गर्न अलग्गै ओढ्ने, ओछ्याउने कपडाको सुविधा छ। विगतमा छाउगोठ भत्काइँदा विरोध गर्नेहरूको व्यवहारमा पनि अहिले निकै परिवर्तन आएको छ। आशा गर्न सकिन्छ- समयअनुसार एक दिन गाउँबाट पूर्ण रूपमा छाउपडी प्रथा अन्त्य हुनेछ।