काठमाडौं– एसीसी प्रिमियर कप क्रिकेटमा सोमबार हङकङलाई फराकिलो अन्तरले पराजित गर्दै नेपालले लगातार तेस्रो जीत हात पारेको छ।
हङकङविरुद्ध नेपाल ८ विकेट विजयी भएको हो। हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाउँदै पुरा गर्यो।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए। उनले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै १९ बल फेस गरेका कुशल भुर्तेलले ३ चौका र २ छ्क्का हान्दै ३२ रन बनाए। कप्तान रोहित पौडेलले २५ र सन्दीप जोराले १९ रन बनाए।
बलिङमा हङकङका एहसान खान र यासिम मुर्ताजाले समान १/१ विकेट लिए।
त्यसअघि नेपालले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको हङकङले १७.५ ओभरमा अलआउट हुँदै ११४ रन बनाएको थियो।
हङकङका लागि ओपनर अन्शी रथले सर्वाधिक ३४ रन बनाए। त्यस्तै जिसन अलीले १४, कप्तान निजाकत खानले १२ र एहसान खानले ११ रन बनाए।
बलिङमा नेपालका अविनाश बोहराले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले पनि २/२ तथा करण केसीले १ विकेट हात पारे।