काठमाडौं- १२ वैशाख ०७२ को विनाशकारी भूकम्पले ढालेको सुन्धारास्थित धरहरा पुनर्निर्माण ६ पटक थपिएको म्याद सकिँदा पनि अधुरै छ। सरकारले फेरि सातौंपटक म्याद थप्ने तयारी थालेको छ।
निर्माण शुरु भएको ५ वर्षमा धरहरा निर्माण ९२ प्रतिशत मात्र सम्पन्न भएको छ। अब सातौंपटक म्याद थपेर शतप्रतिशत निर्माण सक्ने सरकारी योजना देखिन्छ।
शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का आयोजना प्रमुख कोषनाथ अधिकारीका अनुसार धरहरा पुनर्निर्माणको अहिले भौतिक ९२ र वित्तीय प्रगति ७८.६ प्रतिशत छ।
उनका अनुसार धरहरा पुनर्निर्माणअन्तर्गत मेकानिकल, विद्युतीकरण, प्लम्बिङ, सीसीक्यामेरा जडान, रङरोगन र फिनिसिङको काम बाँकी नै छ। निर्माण व्यवसायीले फटाफट गरे भने ३ महिनामा सम्पूर्ण काम सम्पन्न हुने उनी बताउँछन्।
तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत धरहरा पुनर्निर्माण अघि बढाइएको थियो। अहिले शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) मार्फत निर्माणको काम भइरहेको छ। १४ असोज ०७५ मा उक्त आयोजना शुरु गर्ने सम्झौता गर्दा २ वर्षभित्र काम सक्ने सम्झौता थियो। पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी जीआईईटीसी-रमण (संयुक्त) बीच भएको सम्झौताअनुसार धरहरा निर्माण २० हसोज ०७७ सम्ममा सम्पन्न भइसक्नुपर्ने थियो। कात्तिक ०७५ देखि नै काम पनि शुरु नभएको होइन। तर, अझै धरहरा अधुरै छ।
सातौंपटक म्याद थप्ने तयारी
आयोजना प्रमुख अधिकारीका अनुसार धरहरा पुनर्निर्माणका लागि हालसम्म ६ पटक म्याद थपिएको छ। र, सातौंपटक थप्ने तयारी छ।
१४ असोज ०७५ मा पहिलोपटक सम्झौता भएको थियो। निर्धारित दुई वर्ष ६ दिनमा निर्माण सम्पन्न नभएपछि पहिलोपटक २२ असोज ०७७ मा १६ असार ०७८ मा सम्पन्न गर्नेगरी म्याद बढाइयो। त्यस अवधिमा पनि निर्माण नसकिएपछि दोस्रो पटक १६ असार ०७८ मा म्याद थपियो, १० पुस ०७८ मा काम सक्ने गरी।
६ महिनाको त्यस अवधिमा पनि काम अधुरै रह्यो। र, ३० चैत ०७८ मा काम सक्नेगरी १० पुस ०७८ मा फेरि म्याद बढाइयो। तेस्रोपटक म्याद थप्दा ३ महिना २० दिनको अवधि दिइएको थियो।
फेरि पनि काम अधुरै रह्यो। र, ३० पुस ०७९ मा काम सक्नेगरी चौथोपटक ३० चैत ०७८ मा फेरि म्याद थपियो। तब पनि काम सकेन ठेकेदार कम्पनीले। र, ९ महिनाभित्र अर्थात् २७ असोज ०८० भित्र काम सम्पन्न गर्नेगरी ३० पुस ०७९ मा फेरि म्याद थपियो।
पाँचौंपटकमा पनि ठेकेदारले धरहरा निर्माण पूरा गरेन। र ४ माघ ०८० मा काम सक्नेगरी २७ असोज ०८० मा फेरि छैटौंपटक म्याद थपियो। छैटौंपटकको म्याद सकिएको पनि २५ दिन बितिसक्यो। र, अब फेरि सातौंपटक म्याद थप्ने तयारीमा सरकार छ।
किन अधुरै धरहरा ?
कोभिड-१९ महामारी, जग्गा विवाद, स्थानीय बासिन्दाको अवरोध, निर्माण कम्पनीको ढिलासुस्तीलगायत कारण धरहरा पुनर्निर्माणमा बिलम्ब भएको आयोजना प्रमुख अधिकारी बताउँछन्। भन्छन्, ‘दुईपटक कोरोनाका कारणले म्याद थप्नुपर्यो। दुईपटक जग्गा व्यवस्थापनको समय लागेर म्याद थपिएको थियो।’
कुनै अवरोध नभए र निर्माण व्यवसायीले फटाफट काम गरे ३ महिनामा निर्माण सम्पन्न हुने उनी बताउँछन्। ३ अर्ब ४९ करोड रुपैयाँ लागत अनुमानका आधारमा निर्माण शुरु गरिएको थियो, धरहराको। आयोजना प्रमुख अधिकारीका अनुसार २ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।
पार्किङले निर्माणमा समस्या
१४ माघमा काठमाडौं महानगरले धरहरा क्षेत्रमा निःशुल्क पार्किङ खुला गरेपछि नयाँखाले विवाद उत्पन्न भएको छ। पार्किङका कारण काम गर्न समस्या भएको निर्माण कम्पनीले बताएको छ। आयोजना प्रमुख अधिकारीका अनुसार नगरपालिकाले पार्किङका लागि धरहराको एकतला प्रयोग गरेको छ। भन्छन्, ‘निर्माण व्यवसायीले पार्किङले गर्दा काममा डिस्टर्ब भयो भनेर हामीलाई पत्राचार गरेको छ। त्यहीअनुसार हामीले पनि नगरपालिकालाई गाडी पार्किङसँगै काम गर्न अप्ठ्यारो भयो भन्दै काम सकेपछि प्रयोग गर्न पत्राचार गरेका छौं। महानगरबाट हालसम्म हामीलाई कुनै जवाफ आएको छैन।’
भूकम्पबाट ध्वस्त भएको पुरानो धरहरा नजिकै नयाँ धरहरा निर्माण पूरा नहुँदै ११ वैशाख ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले ‘आफ्नो सरकारको काम देखाउने’ बहानामा यसको उद्घाटन गरेका थिए। जब कि, त्यतिबेला भौतिक प्रगति २५ प्रतिशत मात्र थियो।
खासमा, विसं १९९० को विनाशकारी भूकम्पसम्म धरहराको उचाइ ११ तले थियो। उक्त भूकम्पमा आधा ढलेको धरहरालाई त्यसपछिको सरकारले नौतले बनाएको थियो। त्यसबेला ६१.८८ मिटर अग्लो धरहरा निर्माण भएको थियो। अहिले भने बाहिरबाट हेर्दा ११ तलेजस्तो देखिए पनि भित्री संरचना २२ तलाको छ। र, उचाइ ८३.५८ मिटर छ।