काठमाडौं- आज १५ अप्रिल। विश्व इतिहासका अनेकन् घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९९४- विश्व व्यापार संगठन स्थापना
सन् १९९४ मा आजकै दिन विश्व व्यापार संगठन (डब्लूटीओ)को स्थापना भएको हो। यो संगठनले अन्तर्राष्ट्रिय व्यापारलाई उदार बनाउन समन्वय गर्ने गर्छ। तथापि, विश्वव्यापी रूपमा नकारात्मक सामाजिक र पर्यावरणीय दुष्प्रभावलाई नजरअन्दाज गरेको र तिनलाई बढाउन उल्टै मद्दत पुर्याएको आरोप डब्लूटीओले सामना गर्दै आएको छ।
– सन् १९८९- चीनको तियानमेनमा विद्यार्थीको प्रदर्शन
सन् १९८९ मा आजकै दिन चीनको तियानमेन स्क्वायरमा विद्यार्थीहरूको सानो समूहले लोकतन्त्र स्थापना माग गर्दै प्रदर्शन गरेको थियो। सुधारक हु याओबाङको मृत्युपछि उक्त प्रदर्शन भएको थियो। प्रदर्शन बढ्दै जाँदा सोही वर्षको ४ जुनमा चीन सरकारले तियानमेन स्क्वायर परिसरमा नरसंहार गरेको थियो।
– सन् १९८६- लिबियामा अमेरिकाको हवाई आक्रमण
सन् १९८६ मा आजकै दिन उत्तर अफ्रिकी मुलुक लिबियामा अमेरिकाले हवाई आक्रमण शुरु गरेको थियो। ‘अपरेसन एल डोरेडो’ नाम दिइएको आक्रमणमा परी एक शिशुसहित ४० लिबियाली नागरिक मारिएका थिए। ५ अप्रिलमा बर्लिनको डिस्कोथेकमा भएको बम विष्फोटको जवाफी कारवाहीस्वरूप अमेरिकाले लिबियामा आक्रमण गरेको थियो। उक्त बम विष्फोटमा ३ जनाको ज्यान गएको थियो।
– सन् १९३५- इस्टम्यान कोडाक कम्पनीको कोडाक्रोम लन्च
सन् १९३५ मा आजकै दिन इस्टम्यान कोडाक कम्पनीको कोडाक्रोम लन्च गरिएको थियो। उक्त फोटोग्राफिक फिल्म संसारभर व्यावसायिक तथा शौखिन फोटोग्राफरहरू माझ सबैभन्दा लोकप्रिय बनेको थियो। डिजिटल फोटोग्राफीको आगमनपछि सन् २००९ देखि उक्त पुरानो प्रविधिको उत्पादन बन्द भयो।
– सन् १९१२- टाइटानिक डुब्यो समुद्रमा
सन् १९१२ मा आजकै दिन टाइटाइनिक पानीजहाज नर्थ एटलान्टिक महासागरमा डुबेको थियो। अमेरिकाको न्युयोर्कबाट इंग्ल्यान्डको ह्याम्पसायरस्थित साउथाम्पटन बन्दरगाहतर्फ गइरहेको जहाज समुद्री आइसबर्गमा ठोक्किएर दुर्घटनामा परेको थियो। घटनामा जहाजमा सवार १५ सयभन्दा बढीको ज्यान गएको थियो।
– सन् २०१३- बोस्टन म्याराथनमा बम आक्रमण
सन् २०१३ मा आजकै दिन अमेरिकाको बोस्टनमा आयोजित म्याराथनमा दुईवटा होम मेड बम फालिएको थियो। घटनामा तीनजनाको ज्यान गएको थियो, अन्य २६० जना घाइते भएका थिए। यो एक आतंकवादी आक्रमण थियो।
– सन् १९८९- फुटबल प्रशंसकको भागदौडमा गयो ९६ को ज्यान
सन् १९८९ मा आजकै दिन इंग्ल्यान्डको सेफिल्डस्थित हिल्सबरो स्टेडियममा फुटबल (सकर) समर्थकबीच भागदौड मच्चिँदा ९६ जनाको ज्यान गएको थियो। घटनामा सयौं घाइते भएका थिए। उक्त घटनाका लागि अनुसन्धानबाट प्रहरीको त्रुटि ठहर भएको थियो।
– सन् २०१२- पाकिस्तानी जेलबाट भागे ४०० लडाकु
सन् २०१२ मा आजकै दिन पाकिस्तानको जेलमा रहेका ४०० लडाकु फरार भएका थिए। कारागारमा भएको आतंकवादी आक्रमणपछि ती लडाकु भाग्न सफल भएका थिए।
– सन् २००२- एयर चाइनाको विमान दुर्घटनामा १२८ मारिए
सन् २००२ मा आजकै दिन एयर चाइनाको विमान दुर्घटनामा १२८ जनाको ज्यान गएको थियो। चीनको राजधानी बेइजिङबाट दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गइरहेको बोइङ ७६७-२०० मोडलको विमान भारी वर्षा र बाक्लो हुस्सुका कारण गन्तव्यमा पुग्ने केहीबेरअघि दुर्घटनाग्रस्त भएको थियो।