• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

स्याटर्डे सिनेमा : आत्महत्या भर्सेस जीवन !


शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित

काठमाडौं- हरेक मानिस केही न केही समस्याबाट ग्रसित छन्। दैनिक जीवनमा आइपर्ने बाधा-अवरोधले मानिसलाई अवश्य असहज तुल्याउँछ। त्यस्ता बाधा-अवरोधको हल खोज्दै केही व्यक्तिले आकाश छेड्छन् भने केही समस्याहरूसँग जुध्‍न नसकी एन्जाइटी, डिप्रेसन हुँदै अन्ततः आत्महत्याको बाटो रोज्‍न पुग्छन्।

Advertisement

विश्‍वभर युवा पुस्तामा बर्सेनि आत्महत्याको ग्राफ उकालो लागेको छ। आत्महत्या गर्ने ती व्यक्ति हुन्, जो जीवन यात्राका यस्ता सामान्य समस्यालाई असामान्य मान्छन् र जीवनदेखि नै हार मान्छन्।

विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांकअनुसार विश्‍वमा हरेक सेकेन्ड ३ र वार्षिक ७ लाखभन्दा बढीले आत्महत्या गर्छन्। तीमध्ये ७७ प्रतिशत निम्न र मध्यम आय भएका देशहरूका व्यक्ति रहेको डब्लूएचओकै तथ्यांकले पुष्‍ट्याउँछ।

सोही तथ्यांकलाई आधार मान्दा विश्‍वमा सबैभन्दा बढी आत्महत्या हुने देश लेसोथो हो। र, आत्महत्याका सबैभन्दा कम आँकडा रहेका मुलुक एन्टिगुवा र बार्बाडोस हुन्। लेसोथोमा प्रति एक लाखमा ७२.४ जनाले आत्महत्या गर्छन्। यस्तै, एन्टिगुवा र बार्बाडोसमा प्रति एक लाखमा ०.४ प्रतिशतले बर्सेनि आत्महत्या गर्छन्।

छिमेकी राष्‍ट्र भारतमा त झन् आत्महत्याको अवस्था निकै भयावह छ, जहाँ बर्सेनि झण्डै दुई लाख मानिसले आत्महत्या गर्छन्। सन् २०२२ मा मात्र भारतमा १.७१ लाख मानिसले आत्महत्या गरेका थिए। सन् २०२१ को तुलना यो संख्या ४.२ प्रतिशतले वृद्धि भएको हो।

नेपाल पनि आत्महत्याबाट अछुतो छैन। नेपालमा दैनिक सरदर १६ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांक छ। नेपालमा बर्सेनि ६ हजारदेखि ८ हजारजनाले आत्महत्या गर्ने गरेको प्रहरीको आँकडाले बताउँछन्। यसमा पनि सबैभन्दा बढी आत्महत्या गर्ने उमेर समूह १५-३० वर्षको छ। नेपालमा आत्महत्याको ट्रेन्ड हरेक वर्ष उकालोलाग्दो छ।

कुनै पनि व्यक्तिले विनाकारण आत्महत्या गर्दैन। आर्थिक अवस्था, पढाइ, व्यावसायिक र वैवाहिक असमझदारी र पति-पत्‍नीबीच यौन समस्याजस्ता यावत कारणले व्यक्तिले आत्महत्याको बाटो रोज्‍ने गरेको मनोविद तथा मानसिक रोग विशेषज्ञहरू बताउँछन्। मानसिक रोग विशेषज्ञहरू त आत्महत्यालाई मानसिक रोगको उपज मान्छन्। दैनिक जीवनमा आइपर्ने बाधा अवरोधले व्यक्तिलाई विस्तारै मानसिक रोगी बनाउँदै लग्छ। अन्तिममा डिप्रेसनमा परी आत्महत्या गर्न बाध्य बनाउने मनोविदहरू बताउँछन्।

०००

जीवनमा समस्या पर्‍यो भन्दैमा आत्महत्या नै अन्तिम विकल्प होइन। दुःख र सुख त जीवनका दुई पाटा हुन्। ‘दुःखमा आतिनु हुँदैन अनि सुखमा मात्तिनु हुँदैन’ भन्‍ने नेपाली कथनलाई पुष्‍टि गरेको छ, बलिउड फिल्म ‘द डार्क साइड अफ लाइफ- मुम्बई सिटी’ले।

यस फिल्मले मानिसको जीवनमा के-कस्ता उतारचढाव आउँछन् र सबै मानिसको समस्या एकै नासको हुँदैन भन्‍ने देखाएको छ। अलग-अलग समस्याबाट गुज्रिरहेका व्यक्तिहरू कसरी आत्महत्या गर्ने निष्‍कर्षमा पुग्छन् भन्‍ने कुरालाई फिल्ममा देखाएको छैन। आत्महत्या नै समस्याको समाधान होइन र अँध्यारोपछि उज्यालोको आगमन भएझैं मानिसको जीवन पनि सधैं एकनासको हुँदैन। बाँच्ने हो भने समस्यालाई छिचोल्दै समस्याको समाधान खोजेर जीवनमा पुनः खुशी प्राप्त गर्न सकिन्छ भन्‍ने एक सकारात्मक पाटोलाई फिल्मले उजागर गरेको छ। त्यसकारण यो फिल्म धेरै युवाको प्रेरणाको स्रोत बन्‍न सक्छ।

यस्तो छ कथा

‘द डार्क साइड अफ लाइफ- मुम्बई सिटी’  फिल्मको कथावस्तु आनन्द  र पारुल दम्पतीको दैनिकीबाट शुरु हुन्छ। ३०-३५ वर्षे यो दम्पती १ महिनादेखि मुम्बईको राम्रो सोसाइटीमा फ्ल्याट भाडामा लिएर बसेको छ।

आनन्द र पारुल दुवै जागिरे हुन्। आनन्द इन्स्योरेन्स एजेन्ट हुन् भने पारुल एक कम्पनीमा रिसेप्सनिस्ट छिन्। दुवै जागिरे भए पनि शहरको चकाचौंधमा उनीहरू रनभुल्लमा परेका छन्। सुन्दर भविष्‍यको कल्पनामा मुम्बई भित्रिएको यो दम्पतीका असीमित सपना छन्। देखासिकी गरेरै भए पनि उनीहरूलाई सुन्दर जीवन जीउनु छ। त्यसकै लागि आनन्द र पारुलले सक्दो मिहिनेत पनि गरिरहेका छन्।

हरेक महिना २२ हजार फ्ल्याट भाडा अनि गाडीहरूका किस्ता तिर्नै ठिक्क हुन्छ। त्यसमाथि टार्गेट पूरा गर्न नसके अफिसबाट निकालिदिने कुरा गरेपछि आनन्द तनावै तनावमा बाँचिरहेका छन्। पारुलको अवस्था पनि त्यस्तै छ। अफिसमा कर्मचारी घटाउनुपर्ने बहाना बनाउँदै हाकिमले उनीमाथि गिद्दे नजर गाडेका छन्। भएको जागिर पनि कहिलेसम्म रहने हो भन्‍ने ठेगान नभएको यो जोडी दूध र पेट्रोलको मूल्य सामान्य बढ्दा पनि आत्तिन्छ।

अफिसमा तनावै तनावमा काम गर्नुपर्छ नै, घर आउँदा पनि चैनको श्‍वास फेर्न पाउँदैनन् उनीहरूले। सोसाइटीभित्रै कार पार्किङ गर्दा जहिल्यै सोसाइटीको चेयरम्यान आनन्दलाई नानाथरि सुनाउन पछि हट्दैनन्।

सन्तानको चाहना हुँदाहुँदै पनि आर्थिक अभावमा अल्झिरहेका उनीहरू संघर्षकै दौडधुपमा छन्। वर्तमानभन्दा भविष्‍य राम्रो भए सन्तानको योजना बनाउने आश्‍वासन आनन्द पारुललाई दिन्छन्।

आनन्दले टार्गेटअनुसार इन्स्योरेन्स सदस्य बनाउन सकेका छैनन्। टार्गेटअनुसार काम गर्न नसकेपछि अर्को महिनादेखि काममा नआउन भनिएको उसलाई स्मरण नै छ। पारुललाई पनि काम रहिरहनु छ भने हाकिमले आफूसँग रात गुजार्न राखेको प्रस्तावले पिरोलिरहेको छ।

दुवै श्रीमान-श्रीमती बेरोजगार भएपछि उनीहरूलाई घरभाडा, गाडीको किस्ता तिर्न त परको कुरा हो, दुई छाक टार्न पनि मुस्किल पर्छ। अनि यो दम्पती आत्महत्या गर्ने निष्‍कर्षमा पुग्छ।

०००

फिल्मका अर्का पात्र हुन्, सुमित बलसारिया। ५-७ वर्षीया छोरीका बुवा हुन्, सुमित। श्रीमतीको निधन भइसकेपछि सुमितले नै छोरी नुनुको ख्याल गर्दै आएका छन्।

सुमित एक बिजनेस म्यान हुन्। सेयर बजारमा लगानी गरेर नाफा कमाउने होडबाजीमा लागेका उनी साहुबाट ऋण लिएर लगानी गर्छन्। लामो समयदेखि सेयर बजारमा हात हालेका सुमितले अहिलेसम्म नाफा कमाउन सकिरहेका छैनन्।

फिल्ममा व्यावसायिक व्यक्तिले के-कस्तो समस्याको सामना गर्नुपर्छ भन्‍ने दृष्‍यांकन गरिएको छ। तान्या नामक युवतीसँग प्रेम सम्बन्ध रहेका उनी छोरीको सल्लाहबमोजिम उसैसँग विवाह गर्न पनि चाहन्छन्।

भर्खरै खुलेको एक कम्पनीको आईपीओका लागि उनले कुमार र खन्‍ना दुईजना साहुबाट ऋण लिएर करिब २६ करोड लगानी गर्छन्। तर, त्यसमा उनले नोक्सानी बेहोर्छन्। घरमा काम गर्ने महिलालाई पनि तलब खुवाउने अवस्था नरहेपछि कामबाट निकाल्नु अवस्था आइपर्छ।

सेयर बजारमा लगानी गर्दा लिएको ऋण चुक्ता गर्न नसकेपछि अफिस खन्‍ना र घरको कागजात अर्का साहु कुमारको नाममा पास गर्ने निष्‍कर्षमा पुग्छन्। हिजो अवस्था राम्रो हुँदा साथमा रहेकी तान्याले पनि अवस्था खस्किनेबित्तिकै नेटो काट्छिन्। त्यसपछि सुमित मानसिक रूपमा कमजोर हुँदै जान्छन्।

छोरीलाई आमाबुवाको जिम्मा लगाएर आत्महत्या गर्ने सोच बनाइसकेका सुमित आमाबुवाले नुनुको जिम्मेवारी लिन नमानेपछि छोरीसँगै आत्महत्या गर्ने निष्‍कर्षमा पुग्छन्।

अनि, छोरी नुनुसँगै विल्डिङको माथिल्लो तलाबाट हाम फाल्न जान्छन्। तर, नुनुले त्यहाँबाट हाम फाले पनि तपाईंले मलाई सुपर म्यान बनेर बचाइहाल्नु हुन्छ भन्दा उनलाई अबोध छोरीको माया लागेर आउँछ। त्यसपछि एक्लै आत्महत्या गर्ने सोच बनाउँछन्।

०००

अर्का पात्र हुन् इन्स्पेक्टर बरुण। यौन समस्याबाट प्रताडित बरुणको वैवाहिक जीवनमा खलल पुगेको छ। कक्षा ९ मा पढ्दा शिक्षकले चुरोट खाएको देखेपछि घरमा बताइदिने धम्की दिँदै उनी शिक्षकद्वारा नै ‘मोलेस’ भएका हुन्छन्। त्यसबाट उनी अहिले पनि बाहिर निस्कन सकेका छैनन्।

बारम्बार त्यो घटनाले उनलाई पछ्याइरहन्छ। त्यसकारण पनि उनको श्रीमती ट्रेसीसँगको वैवाहिक जीवन सफल हुन सकेको छैन। दैनिक श्रीमतीको घोचपेचले बरुण आफ्नो काममा पनि केन्द्रित हुन सकिरहेका छैनन्। उनले बारम्बार आफ्नै पेस्तोलले आत्महत्याको प्रयाससमेत गरिसके।

०००

फिल्मका अर्का पात्र हुन्, मुसलमान दम्पती कादम्बर र जोहरा। कश्मीरका स्थायी बासिन्दा मिर र जोरा घुमघामकै बहानामा मुम्बई आएका छन्। तर, मुम्बई भित्रनुको पछाडि कादम्बरको अलग्गै उद्देश्य छ।

मुम्बई प्रवेश गर्ने क्रममा कश्मीरबाट आएकै कारण आतंकवादी हुन सक्ने आशंकामा इन्स्पेक्टर बरुणले मिर र जोराको तलासी लिन खोज्छन्। रातिको समयमा बरुणसँग महिला कन्स्टेवल नभएकाले मानसिक रूपमा अशक्त बन्दै गएको बरुण आफैं जोहराको तलासी लिन खोज्छन्। तर, भीडबाट एक महिलाले प्रतिरोध गर्छिन्। र, जोराको तलासी सर्वसाधारण महिलाले नै लिन्छन्।

भारतीय सेना र आतंकवादीबीच भीडन्त हुँदा कादम्बरका बुवा मारिएका हुन्छन्। भारतीय सेनामा भर्ति भएको भाइलाई पनि आतंकवादी भन्दै फेक इन्काउन्टरमा मारेपछि त्यसकै बदला लिन उनी मुम्बई प्रवेश गरेका हुन्छन्। उनको आक्रोशमा घिउ थप्‍ने काम बरुणको व्यवहारले गरेको छ। उनी कुनै पनि हालतमा मुम्बईमा ब्लास्ट गरेर बदलाा लिने दाउमा छन्। जोहरा भने कादम्बरको उद्देश्यबारे अनभिज्ञ छिन्।

०००

फिल्मको अर्का पात्र हुन्, प्रिन्स। करिब २४ वर्षका प्रिन्स आमाको सपना साकार गर्न गायक बन्‍न मुम्बई पसेका छन्, जहाँ उनले चिनेजानेको कोही छैन। ३ वर्षको हुँदा छोडेर गएका बुवाको उपचारको थप जिम्मेवारी पनि प्रिन्सको काँधमा छ।

मुम्बई आएको तीन दिनपछि प्रिन्सको चिनजान काव्यासँग हुन्छ। धनी बाउकी एक्ली छोरी काव्याकी पनि आमा छैनन्। बुवासँग बसेर मनको कुरा गरौं भने बुवाले समय दिएका छैनन्। कामकै पछाडि दौडधुपमा रहेका बुवाले आफ्नो इच्छा, आकांक्षा नबुझिदिएपछि एक्लोपन भगाउन काव्याले ड्रग्सको सहारा लिएकी छन्।

मुम्बई आइसकेपछि प्रिन्स गिर्नाड सोसाइटीमा बस्‍न थाल्छन्, जहाँ जुल्फिकर हुसेन पनि बस्छन्। घरबाट निकालिएका अभिभावकलाई हुसेनले आफ्नो सोसाइटीमा सहारा दिएका छन्। अन्य ठाउँमा बस्‍ने बन्दोबस्त नमिल्दासम्म प्रिन्सलाई गिर्नाड सोसाइटीमा बस्‍न अनुमति दिएका छन्, जुल्फिकर हुसेनले।

हुसेन पनि खुशी छैनन्। श्रीमतीको मृत्युपछि अनेक कष्‍ट गरी हुर्काएको छोरा इरफान २० वर्षको हुँदा नै अमेरिका गएका छन्। छोरा आउला भन्‍ने प्रतीक्षामा रहेका हुसेनलाई इरफानले सञ्‍चो-बिसञ्‍चो सोध्‍नलाई कहिल्यै फोन धरि गर्दैनन्। जुल्फिकर हुसेनका आँखा जहिल्यै फोनमै डुलिरहन्छन्।

काव्यासँगको संगतले प्रिन्सले एउटा गीत गाउने अवसर पनि पाउँछन्। यता जुल्फिकरले पनि प्रिन्सलाई आफ्नै छोरा इरफानजस्तै माया गर्न थाल्छन्।

०००

फिल्मकी अर्की पात्र हुन्, सुपर मोडल कादम्बरी चौहान। कादम्बरीले मोडलिङमा राम्रै उपलब्धी हासिल गरिरहेकी छन्। ७ वर्षसम्म बल्लभ भन्‍ने बिजनेस म्यानको कम्पनीको लागि मोडलिङ गर्ने एग्रिमेन्ट साइन गरेकी उनी बल्लभसँगै प्रेम सम्बन्धमा छिन्।

एग्रिमेन्ट सकिन केही समय मात्र बाँकी छ। कादम्बरी प्रेमी बल्लभसँगै बिहे गर्न चाहन्छिन्। बल्लभले भने कादम्बरीसँग विवाह गर्ने दूरदूरसम्म पनि सोचेका छैनन्। हरेकपटक विवाहका लागि अस्वीकार गरेपछि कादम्बरी आफूलाई बल्लभले प्रयोग गरिरहेको महशुस गर्छिन्।

त्यसपछि उनी डिप्रेसनमा जान्छिन्। रातदिन कोठामा एक्लै बस्‍ने र चुरोट, रक्सी पिउनु उनको दैनिकी बन्छ। र, उनलाई पनि आत्महत्या गर्ने सोच आउन थाल्छ।

आत्महत्या समाधान होइन

फिल्ममा हरेक पात्र आ-आफ्नै अनि अलग-अलग समस्याबाट ग्रसित छ। विकल्प नभेटाएपछि आनन्दले विष किनेर ल्याउँछन्। मर्ने निर्णय नै गरिसकेपछि आनन्द जो जहिले घरभाडा, कार पार्किङ गर्न नदिने सोसाइटी चेयरम्यानकै कोठामा गएर गलहत्याउँदै हिजोसम्म प्रतिष्‍ठाकै लागि चुप लागेर बसेको सबै रिस पोख्छन्। दबाएर राखेको सबै कुरा सबैले सुन्‍नेगरी पोख्छन्। त्यस कुराले पारुलमा पनि हिम्मत आउँछ। काममा रहिरहनको लागि गलत मनसाय बनाएको अफिसको बोसलाई मध्यरातमा फोन गरेर खुब सुनाउँछिन्। र भोलिदेखि काममा नआउने बताउँछिन्।

अन्ततः विष सेवन गरी आत्महत्या गर्ने निष्‍कर्षमा पुगेको यो दम्पती आत्महत्याको निर्णयबाट बाहिर निस्किन्छ। अरूले के गर्‍यो, अरूजस्तै बन्‍नको लागि जीवन जिउँदा यस्तो समस्या आइलागेको महशुस भए पनि अबदेखि आफ्नो लागि र आफ्नो खुशीअनुसार जीवन जिउने वाचा गर्दै आत्महत्या गर्नबाट टाढै रहन्छन्।

ओभरडोज ड्रग्स लिएपछि उपचारको क्रममा काव्याको मृत्यु हुन्छ। काव्यालाई मन पराइरहेका प्रिन्स तनावमा रहन्छन्। उनले आफू बाँच्नुको विकल्प नभेटाएपछि हात काटेर आत्महत्याको प्रयास गर्छन्। सही समयमा जुल्फिकरले अस्पताल पुर्‍याएपछि प्रिन्स बच्‍न सफल हुन्छन्।

जीवनको अन्तिम दिनमा कुनै तनाव नलिई मर्नको लागि सुमित क्लबमा जान्छन्। त्यसै रात आत्महत्या गर्ने सोच बनाएकी कादम्बरी पनि क्लब आउँछिन्। सुमित र कादम्बरीको भेट हुन्छ। दुवै आ-आफ्नो समस्याबारे खुलेर कुरा गर्छन्। एकअर्कालाई जीवनको लागि धेरै कारण रहेको बताउँदै एकअर्काको कमजोरी औंल्याइदिएपछि सुमित र कादम्बरी दुवै आत्महत्या नगर्ने निर्णयमा पुग्छन्।

नभन्दै भोलिको बिहानी सुमितका लागि आत्महत्या होइन, जीवन सावित हुन्छ। साहु कुमार घरको कागजात फिर्ता गरी व्यापारमा कहिले नाफा त कहिले नोक्सानी हुने बताउँदै सही निर्णय लिन सल्लाह दिन्छन्।

यता परिवारको बदला लिन आएका कादम्बरले अञ्‍जानमै आफ्नै श्रीमती जोहरा बसेको ट्याक्सीमा बम राखेका हुन्छन्। बमको त्रासले कोही जोराको उद्धार गर्न नजिक जाँदैनन्। त्यही क्रममा इन्स्पेक्टर बरुणले आफ्नो ज्यानको बाजी थापेर जोरालाई बचाउँछन्। तर, त्यस विष्‍फोटमा बरुणको मृत्यु हुन्छ।

आफूले गरेको अपराधमाथि पछुतो मान्दै कादम्बर श्रीमती जोहरालाई लिएर कश्मीर फर्किन्छन्। मुत्युको मुखबाट बचेका प्रिन्सलाई जुल्फिकर हुसेन आफ्नो जीवनमा कति धेरै उतारचढाव आउँदा पनि आत्महत्या नगरेको बताउँदै जीवन जिउन हौसला दिन्छन्। त्यसपछि जुल्फिकर प्रिन्सको बुवा र प्रिन्स छोरा भएर एकअर्काको सहारा बनी सुख, दुःखमा साथ दिने बाचा गर्दै फिल्मको कथावस्तु समाप्त हुन्छ।

०००

२३ नोभेम्बर २०१८ मा रिलिज भएको ‘द डार्क साइड अफ लाइफ- मुम्बई सिटी’ तारिक खानद्वारा निर्देशित फिल्म हो। निसार अख्तरले यसको कथा लेखेका हुन् भने अजय कोलले सम्पादन गरेका हुन्।

यस फिल्ममा महेश भट्टले जुल्फिकर हुसेन, केके मेननल सुमित बलसरिया, नेहा खान काव्या, अलिशा खानले जोहराको भूमिका वहन गरेका छन्। यस्तै, गुल हमिदले कादम्बर, अवी पर्दासनीले प्रिन्स, निखिल रत्‍नपारखीले आनन्द र ज्योति मलसेले पारुलको भूमिका वहन गरेका छन्।

शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.