रौतहट– रौतहटको गुजरा नगरपालिकास्थित जंगलसहियामा ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ।
Advertisement
आइतबार बिहान धनसारबाट जंगलसहियातर्फ आउँदै गरेको ना७त ७५७ नम्बरको सिरक डस्ना बनाउने ट्याक्टरले साइकललाई ठक्कर दिँदा शेख हसमुल्लाका १३ वर्षीया छोरा शेष सहनवाजको मृत्यु भएको हो। उनी गुजरा नगरपालिका–४ मुस्लिमटोलस्थित मामाघरमा बस्दै आएका थिए।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएका सहनवाजलाई उपचारका लागि चन्द्रनिगाहपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। बालकको मृत्यु भएपछि पीडित परिवारले मृतकको शव फिर्ता ल्याई घटनास्थलमा राखेर प्रदर्शन गर्दै जंगलसैया–धन्सार सडक अवरुद्ध पारेका छन्।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने घटनास्थलमा प्रहरी परिचालन गरेर तनाव कम गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।