काठमाडौं- आज ७ अप्रिल। विश्व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, विश्व चर्चित केही घटनाको सारसंक्षेप।
– सन् १९९०- यात्रीवाहक डुंगामा आगजनी, १५९ को मृत्यु
नर्वेको ओस्लोबाट फ्रेडेरिक्साभन जाँदै गरेको यात्रीवाहक स्कान्डिनाभियन डुंगामा आजकै दिन गराइएको आगजनीमा परी १५९ यात्रीले ज्यान गुमाएका थिए। बीमा फ्रडका लागि उक्त आगजनी गराइएको आशंका गरिएको थियो। सन् २०१३ मा प्रकाशित रिपोर्टअनुसार डुंगाकै ९ जना क्रु मेम्बरले उक्त आगजनी गराएका थिए। डुंगामा लागेको आगो निभाउन गएको फायर क्रुलाई पनि नष्ट गराइएको थियो।
– सन् १९६९- इन्टरनेटको जन्म
सन् १९६९ मा आजकै दिन इन्टरनेटको जन्म भएको थियो। अमेरिकाको एडभान्स रिसर्च प्रोजेक्ट्स एजेन्सीले बीबीएन टेक्नोलोजिजलाई आजको वर्ल्ड वाइड वेबको अग्रदूत बनाउने ठेक्का पाएको थियो। र, आजकै दिन उक्त कम्पनीले यसलाई सार्वजनिक गरेको थियो।
– सन् १९४८- विश्व स्वास्थ्य संगठनको स्थापना
सन् १९४८ मा आजकै दिन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को स्थापना भएको थियो। यो संयुक्त राष्ट्र संघीय एजेन्सी हो। संसारभर विभिन्न रोग र बिमारी अनि महामारीविरुद्ध लड्न डब्लूएचओ प्रभावकारी एजेन्सी हो। सदस्य मुलुकहरूमा राष्ट्रिय स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पनि यसको भूमिका प्रभावकारी देखिँदै आएको छ। हाल यसमा १९४ वटा मुलुक सदस्य छन्।
– सन् १८२७- पहिलो फ्रिक्सन सलाईको बिक्री
बेलायती रसायनशास्त्री जोन वाकरले उत्पादन गरेको फ्रिक्सन सलाई आजकै दिन बिक्री शुरु भएको थियो। त्यसलगत्तै फ्रान्स र जर्मनीले उनको उत्पादन बिक्रीमा प्रतिबन्ध लगाएका थिए। त्यसबाट ठूला आगलागीका घटना हुने आशंका दुवै मुलुकका अधिकारीहरूको थियो।