सुनसरी– सुनसरीको हरिनगरा गाउँपालिकामा स्थानीय युवमाथि भएको कुटपिटको घटनाले उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले ८२ राउन्ड हवाइ फायर गरेको छ।
दर्जन बढीको संख्यामा रहेको एउटा समूहले स्थानीय जीवन मेहतामाथि मरणासन्न हुनेगरी कुटपिट गरेपछि हजारौं सर्वसाधारण लाठीसहित प्रदर्शनमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालाय सुनसरीले शुक्रबार १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यूलगाएको थियो।
कर्फ्यूपश्चात् पनि प्रदर्शन नरोकिएपछि प्रहरीले ३१ राउन्ड र सशस्त्र प्रहरीले ५१ राउन्ड हवाई फायर गरेको थियो। प्रदर्शनमा १० प्रदर्शनकारी घाइते भएका छन् भने १५ जना प्रहरी पनि घाइते भएको सुनसरी प्रहरीले जनाएको छ।
इनरुवा नगरपालिका, हरिनगरा, देवानगञ्ज, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा शुक्रबार अपराह्न ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी भएको प्रशासनले जनाएको छ।
अहिले अवस्था सामान्य बन्दै गएको छ। तर जातीय दंगा भड्किन नदिन सुनसरीको इनरुवा, कोशी, भोक्राहा नर्सिङ, हरिनगरा र देवानगन्जमा नेपाली सेना समेत परिचालन गरिएको छ भने प्रशासनले स्थिति सामान्य बनाउन सर्वदलीय र सर्वपक्षिय बैठक बोलाएको छ।