दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत नलिई पदबाट राजीनामा दिने भएका छन्।
विश्वासको मत लिन आज अपराह्न ४ बजे प्रदेश सभा बैठक बोलाइएको छ। तर, चौधरीले विश्वासको मत नलिइ राजीनामा दिने कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले जनाएको हो।
उनले प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन्।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ। तर आफ्नो पक्षमा बहुमत नआउने भएपछि उनले विश्वासको मत नलिइ राजीनामा दिन लागेका हुन्।
लुम्बिनी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९, नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का १० (सभामुखबाहेक), राप्रपा र नागरिक उन्मुक्तिका चार-चारजना सदस्य छन्। राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन्। जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन-तीनजना तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक-एकजना सदस्य छन् भने एकजना स्वतन्त्र सदस्य छन्।