काठमाडौं- आज ४ अप्रिल। विश्व इतिहासका असंख्य घटनाले आजको दिन विश्वभर स्मरण गराउँछन्। प्रस्तुत छ, विश्व चर्चित केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९७९- जुल्फिकर अली भुट्टोको हत्या
पाकिस्तानका प्रजातन्त्रवादी नेता तथा पूर्व राष्ट्रपति जुल्फिकर अली भुट्टोलाई आजकै दिन सैनिक तानशाह जियाउल हकले मृत्युदण्ड दिएका थिए। सैनिक ‘कु’मार्फत सत्ता हत्याएपछि तानाशाह हकले लोकप्रिय नेता भुट्टोको हत्या गराएका थिए।
– सन् १९७५- माइक्रोसफ्टको स्थापना
सन् १९७५ मा आजकै दिन बिल गेट्स र पल एलेनले माइक्रोसफ्टको स्थापना गरेका थिए। उनीहरूले कम्पनीलाई बहुराष्ट्रिय कर्पोरेसनको रूपमा विकास गरे। र, माइक्रोसफ्ट आम्दानीका हिसाबबाट विश्वको सबैभन्दा ठूलो सफ्टवेयर निर्माता कम्पनी हो।
– सन् १९६९- पहिलो कृत्रिम मुटु प्रत्यारोपण
सन् १९६९ मा आजकै दिन पहिलो कृत्रिम हृदय मानिसमा प्रत्यारोपण गरिएको थियो। अमेरिकी सर्जन डा. डेन्टन कुलीले गरेको हृदय प्रत्यारोपण गराउने भाग्यमानी थिए, हास्केल कार्प। मेसिनको मुटुमार्फत उनी ६५ घण्टासम्म जीवित थिए। तथापि, उनको शरीरले कृत्रिम हृदय ग्रहण गर्न सकेन। र, ८ अप्रिल १९६९ मा उनको मृत्यु भयो।
– सन् १९६८- मार्टिन लुथर किङ जुनियरको हत्या
अमेरिकाका रंगभेद विरोधी नेता मार्टिन लुथर किङ जुनियरको आजकै दिन गोली हानी हत्या गरिएको थियो। पृथकतावादी विचारका जेम्स अर्ल रेले उनको हत्या गरेका थिए। लगत्तै पक्राउ परेका उनलाई ९९ वर्षको जेल सजाय तोकिएको थियो। सन् १९९८ मा जेलमै उनको मृत्यु भयो।
– सन् १९४९- नेटोको स्थापना
सन् १९४९ मा आजकै दिन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को स्थापना भएको थियो। अमेरिकी नेतृत्वको यो संगठन आजको दिनमा विश्वको सबैभन्दा बलियो र महत्त्वपूर्ण सैनिक गठबन्धन हो।
– सन् २०२३- डोनाल्ड ट्रम्पमाथि फौजदारी अभियोग
अमेरिकाका पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवार आकांक्षी डोनाल्ड ट्रम्पमाथि आजकै दिन गुण्डागर्दी र आपराधिक गतिविधिमा संलग्न रहेको अदालतले अभियोग लगाएको थियो। सन् २०१६ मा राष्ट्रपति अभियानको दौरान एक यौन दुर्व्यवहारको आरोपबाट बच्न ट्रम्पले गोप्य रूपमा धन खर्च गरेको पुष्टि भएको थियो। उनलाई म्यानहटनस्थित अदालतले फौजदारी कसूरमा दोषी ठहर गरेको थियो। आपराधिक अभियोगको सामना गर्ने उनी पहिलो पूर्व अमेरिकी राष्ट्रपति हुन्।