काठमाडौं- १२ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनौठो घटना भयो। गृह मन्त्रालय मातहतको अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालसहितका अधिकृतलाई नेपाल प्रहरीका डीएसपी नेतृत्वका सुरक्षाकर्मीले कुटपिट गरे। घटनालगत्तै गृह मन्त्रालयले छानविन समिति त बनाएको छ। तर, यस घटनाले माओवादी नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ नेतृत्वको गृह प्रशासनमा विकृति कुन तहमा झांगिएको छ भन्ने उजागर गरेको छ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गृह मन्त्रालय मातहतकै सह-सचिव हुन्छन्। कार्यालय प्रमुख हमाल त्यस्तै सह-सचिव हुन्। सिनियर सह-सचिव हमालले प्रमुख जिल्ला अधिकारीका रूपमा पनि काम गरिसकेका छन्। प्रहरीका डीएसपी मात्र होइन, डीआईजीसम्मले उनलाई सलाम गर्नुपर्छ। आफू मातहतकै प्रहरीबाट सह-सचिव हमाल कुटिनुलाई सहज मान्नै सकिँदैन। अझ, बन्दुक र लाठी बोकेका प्रहरीबाट कुनै पनि निहत्था पिटिनु मानव अधिकारको गम्भीर उल्लंघन हो।
त्रिभुवन विमानस्थलमा गृह मन्त्रालय मातहतका प्रहरी र अध्यागमनबीचको टकराव नयाँ होइन। यसअघि प्रहरीले आफ्ना काम कारवाहीमा हस्तक्षेप गरेको भन्दै अध्यागमन कार्यालयका कर्मचारीहरू हडतालमै उत्रिएका थिए। भिजिट भिसामा गैरकानूनी रूपमा कामदार विदेश उडाउने गिरोहविरुद्ध प्रहरीले अपरेसन चलाइरहेको छ। र, त्यस क्रममा अध्यागमन अधिकृत नरवीर खड्का पनि पक्राउ परेका थिए। उनलाई पक्राउ गरिएको विरोधमा कर्मचारीले हडताल गरेका थिए। प्रहरीले काममा अवरोध पु¥याएको भन्दै अध्यागमन कार्यालयका कर्मचारीले सामुहिक सरुवा नै मागेका थिए।
शुक्रबार शुरुमा अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि प्रहरीले कुटपिट गरेको थियो। अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थान कक्षमा खटिएका प्रहरी जवान रविरञ्जन गुप्ताले अधिकृत मोक्तानलाई अपशब्द प्रयोग गर्दै गाली गरेका थिए। त्यसपछि असई सञ्जय तामाङसहितका प्रहरीले उनीमाथि निर्घात कुटपिट गरेका थिए।
त्यसपछि डीएसपी रेवतीरमण पोखरेल नेतृत्वको प्रहरी टोलीले अध्यागमन कार्यालय प्रमुख हमाल र उनी मातहतका अध्यागमन कर्मचारीहरूलाई पनि कुटपिट गरेको थियो। सीसी क्यामेरा मनिटरिङ गर्ने कक्षमा थुनेरै उनीहरूलाई पिटिएको थियो।
अध्यागमन कर्मचारीलाई प्रहरीले इवी साँधेकै हिसाबमा कुटपिट गर्नुको अन्तर्य केलाउन ०४७ सालको परिवर्तन अगाडि अर्थात् पञ्चायत कालमा पुग्नुपर्छ। मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना हुनु अघिसम्म अध्यागमन सञ्चालनको जिम्मा प्रहरीलाई थियो। प्रजातन्त्र पुनःस्थापनालगत्तै प्रहरीबाट खोसेर अध्यागमनमा निजामति कर्मचारी तैनाथ भए। त्यसयता नै अध्यागमनमा विकृति झांगिएको विश्लेषण प्रहरीले गर्दै आएको छ। र, ०४७ सालअघिकै अवस्थामा अध्यागमनको जिम्मा आफूहरूले नै पाउनुपर्ने माग त्यसयताका हरेक प्रहरी प्रमुखले गर्दै आएका छन्। प्रहरीको यो मागमा त्यसयताका कुनै पनि सरकारले टेरपुच्छर लगाएका छैनन्। कारण- प्रहरीलाई अध्यागमन जिम्मा दिँदैमा सबै विकृतिको अन्त्य हुने विश्वास पनि कसैमा देखिँदैन।
त्यसमाथि भिसा दिने कार्यकारी कामका लागि प्रहरीले जिम्मेवारी माग्नु पनि गलत हो। प्रहरीले भिसा दिने होइन, निजामतिले नै हो। फेरि प्रहरीले अध्यागमन सम्हाल्दैमा त्रिभुवन विमानस्थलका सबै विकृति अन्त्य हुन्छ भन्ने मान्न सकिँदैन। किनकि, त्रिभुवन विमानस्थलमा पोस्टिङ हुन प्रहरी जवानदेखि डीआईजीसम्मले मोटो रकम बुझाउन पनि तयार भएका प्रशस्त उदाहरण छन्।
अर्को पाटो- त्रिभुवन विमानस्थलको सीसी क्यामेरामाथि प्रहरीको एकतर्फी नियन्त्रण छ। सीसी क्यामेराको फुटेज हेर्नु पर्दा अन्य निजामति निकायले प्रहरीका हाकिमहरूलाई अनुनय विनय गर्नुपर्ने बाध्यता छ, जुन सही मान्न सकिँदैन। अनि बर्दी लगाएको व्यक्तिचाहीं निर्वाध आउजाउ गर्न पाउने, बर्दी नलगाएका निजामतिलगायतलाई मात्र खानतलासी गर्नुपर्ने होइन। संवेदनशील क्षेत्र भएकाले विमानस्थलमा तैनाथ प्रहरी, सैनिक र सशस्त्र प्रहरी कर्मचारीलाई पनि त्यसरी नै खानतलासी लिनुपर्छ। किनकि, नैतिकता बिक्री गर्ने व्यक्ति कोही त्यहाँ पुग्यो भने उसले बर्दी पहिरिँदैमा चोखो हुने होइन।
मुलुकको एक प्रमुख अन्तर्राष्ट्रिय नाका हो, त्रिभुवन विमानस्थल। भिजिट भिसामा युवालाई गैरकानूनी रूपमा विदेश उडाउने मात्र होइन, सुन तस्करीको मुख्य नाका पनि हो यो। तस्करीका घटनामा कुनै न कुनै रूपमा प्रहरीले कथित ‘लाइन’ले काम गरेको हुन्छ। लाइन लिएर सामानदेखि मानिससम्मको तस्करी गराउनु त्रिभुवन विमानस्थलमा तैनाथ प्रहरीको पुरानै गोरख धन्दा हो।
पछिल्ला दिनमा सुन तस्करीका ठूल-ठूला घटना त्रिभुवन विमानस्थलमा भइरहेका छन्। र, ती घटनामा त्यहाँ तैनाथ प्रहरीका ‘लाइन’ले काम गरिरहेको शंका कर्मचारीहरूको रहँदै आएको छ। तथापि, तस्करीका घटनामा कर्मचारीहरू पनि चोखा छैनन्। १४ किलो सुन तस्करी प्रकरणमा विमानस्थलमा कार्यरत नागरिक उड्डयन प्राधिकरणका कर्मचारी नै समातिएका छन् र भन्सारका कर्मचारी पनि। रातो पासपोर्ट दुरुपयोगलगायत मानव तस्करीका घटनामा अध्यागमनका कर्मचारी पनि पटक-पटक समातिएका छन्। यसअघि प्रहरीकै २ एसएसपीहरू पनि पक्राउ र बर्खास्तीमा परेका घटना छन्। ३४ किलो सुन तस्करी प्रकरणमा एसएसपी श्याम खत्री पक्राउ परेका थिए। त्यसअघि विदेशी मुद्रा तस्करी गरेको पुष्टि भएपछि प्रहरीकै एसएसपी रविराज श्रेष्ठलाई बर्खास्त गरिएको थियो।
अर्थात्, त्रिभुवन विमानस्थलमा परिचालित भएका निजामति, सुरक्षाकर्मी कोही चोखा छैनन्, सबै बदनाम छन्। सबै अकुत पैसा कमाउने र राज्य कोष दोहन गर्ने उद्देश्यले नै त्यहाँ पुगेका छन्। प्रहरीका डीएसपी नेतृत्वका सुरक्षाकर्मीले आफैंले सलाम ठोक्नुपर्ने अध्यागमन कार्यालय प्रमुखलाई नै लात्ति र मुड्की बजार्नु यो सबै विकृतिको पटाक्षेप मात्र हो।
तथापि, प्रहरीको सामुहिक पिटाइ खाएका अध्यागमन अधिकृत (उनी पनि गृह मन्त्रालयमातहतकै अधिकृत हुन्) छायालालको पनि शुक्रबारको घटनामा गल्ति देखिन्छ। त्यति संवेदनशील क्षेत्रमा कार्यरत उनले प्रहरीको ‘म्यानुयल चेकिङ’लाई बाइपास गर्न खोजेको सीसी क्यामेराको फुटेजबाट प्रष्ट देखिन्छ। जब कि, त्यति संवेदनशील क्षेत्रमा उनी आफैंले सबै प्रकारका जाँचलाई साथ दिनुपर्ने दायित्व रहन्छ। तर, प्रहरीले उनीमाथि त्यसपछि गरेको सामुहिक कुटपिटलाई ‘बर्दीको आडमा गुण्डागर्दी’ संज्ञा दिनु उपयुक्त हुन्छ। किनकि, त्यहाँ तैनाथ प्रहरी टोलीले अनुशासन तोडेर एउटा व्यक्तिमाथि सामुहिक कुटपिट गरेको सीसी क्यामेराको फुटेजबाट प्रष्ट देखिन्छ।
यहाँ गृहमन्त्री नारायणकाजी कहाँ जोडिन्छन् त ? जवाफ सीधा र प्रष्ट छ- तस्करीका यी सबै धन्दा उनकै संरक्षकत्वमा भइरहेकामा प्रहरीदेखि कर्मचारी र राजनीतिक नेतृत्वसम्म प्रष्ट देखिन्छन्। किनकि, यसबीचमा भएका हरेक सुन तस्करीमा पर्वतका जीवन गुरुङमा पुगेर अनुसन्धान रोकिन्छ। त्यसभन्दा अगाडि अनुसन्धान अगाडि बढाइँदैन, बढ्न दिइँदैन। कारण- त्यसभन्दा अगाडि तस्करीमा जोडिन्छन्, माओवादी नेताहरू। जो गृह प्रशासनको आडमा सुन तस्करीमा कोही प्रत्यक्ष त कोही अप्रत्यक्ष रूपमा संलग्न छन्।
जीवन गुरुङ कथित ‘फरार’छन्। वर्षौंपछि पनि अपराधीलाई कानूनको दायरामा ल्याएरै छाड्ने नेपाल प्रहरी यी ‘फरार’गुरुङलाई समात्न अगाडि बढेको छैन। अर्थात्, अगाडि बढ्न दिइएको छैन।
किनकि, उनी राजनीतिक संरक्षणमा छन्। उनी समातिएको दिन सुन तस्करी संलग्न माओवादी नेताहरूको धोती खुस्किने छ। वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सुन तस्करी भइरहेकामा कुनै शंका बाँकी छ भने केवल बुझ पचाउनका लागि मात्र।
यसमा अर्को रोचक कुरा पनि जोडिएको छ। अहिले त्रिभुवन विमानस्थलमा काजमा खटिएका डीआईजी अर्जुन चन्द ठकुरीसँगै सरुवा भएका डीआईजीहरू सबैको अर्को ठाउँमा सरुवा भइसक्यो। डीआईजीको दरबन्दी नै नभएको विमानस्थलमा किन डीआईजी चन्दलाई खटाइयो र किन अरूको सरुवा हुँदा उनको चाहीं भएन ? १३ वैशाख ०८० मा सरुवा भएका अन्य सबै डीआईजीहरूको हालै अन्यत्र सरुवा भइसकेको छ। डीआईजी चन्द भने विमानस्थलमा काजमै तैनाथ छन्।
जबकि, त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रमुखको दरबन्दी एसएसपीको हो। डीआईजी चन्द कसरी एसएसपीको दरबन्दी रहेको कार्यालयमा निरन्तर टिकेका छन् ? कर्मचारीहरू भने अहिले त्रिभुवन विमानस्थलमा जारी सबै विकृतिको जडका रूपमा डीआईजी चन्दतर्फ नै औंलो सोझ्याइरहेका छन्। र, यस पाटोमा चासो देखाउनुपर्ने निकायहरू सबै मौनं सम्मति लक्षणंको भाव झल्काइरहेका छन्।