काठमाडौं– सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा)का रञ्जिता पक्षका नेतामाथि हातपात गरेको आरोपमा रेशम पक्षका दुई प्रदेशका अध्यक्षलाई केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टीबाटै निष्कासित गरेकी छन्।
पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा अभद्र व्यवहार गरी कुटपिट गरेको आरोपमा उनीहरूलाई पार्टीबाट निष्कासित गरिएको अध्यक्ष श्रेष्ठद्वारा जारी पत्रमा उल्लेख छ।
कारबाहीमा पर्नेमा बागमतीका अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकीका अध्यक्ष राजन गुरुङ छन्। उनीहरूको जिम्मेवारी खोसेर पार्टीबाटै निष्कासन गरिएको बताइएको छ।
नयाँ सत्ता गठबन्धन बनेपछि सरकारमा सहभागी हुने र नहुने भन्नेमा रञ्जिता र रेशम पक्षबीचको विवाद उत्कर्षमा पुगेको छ। रेशम पक्ष कांग्रेसको गठबन्धनमा बस्न चाहन्छ भने रञ्जिता पक्ष वर्तमान सरकारमा सहभागी हुने पक्षमा छ।
सोहि प्रकरणमा दुवै पक्ष एकअर्कामाथि कारबाहीमा उत्रेपछि पार्टी फूटको संघारमा पुगेको छ।