काठमाडौं– टी-२० सिरिजको पहिलो खेलमा नेपाल आयरल्यान्ड ‘ए’सँग २१ रनले पराजित भएको छ।
आयरल्यान्डले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २०१ रन बनाउँदै आउट भयो।
नेपालका लागि लोकेश बमले ५६ बलमा सर्वाधिक १०६ रन बनाए। तर उनको शतकले पनि नेपाललाई जित दिलाउन सकेन। त्यस्तै आरिफ शेखले ४९ रन बनाउँदा कप्तान विनोद भण्डारीले १७ जोडे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा आयरल्यान्ड ‘ए’का लागि म्याथ्यु हम्फ्रिज र फिओन ह्यान्डले ३/३ विकेट लिए भने म्याथ्यु फोस्टरले २ तथा गाभिन होय र थमस मेयसले समान १/१ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रनको योगफल बनाएको थियो।
आयरल्यान्डका लागि पिटर मोरले ३२ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ४९ रनको योगदान गरे। त्यस्तै कप्तान नील रकले र काडे कारमाइकलले समान ३८/३८ रन बनाए। स्टेफन डोहिनीले ३४ गारेथ डेलानीले अविजित ३० र गाभिन होयले अविजित १८ रन बनाए।
नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीले ३ विकेट लिए भने सागर ढकाल र आरिफ शेखले समान १/१ विकेट लिए।
शनिबार फेरि यी दुई टोलीबीच दोस्रो खेल हुनेछ।