काठमाडौं- मलद्वारसम्बन्धी जति पनि रोग हुन्छन्, ती सबै पायल्स नै हुन् भनेर बुझ्ने गरिन्छ। कसैलाई कुनै रोग देखियो भने पनि पायल्स भयो भनेर भन्छन्। तर, नियालेर हेर्ने हो भने मलद्वारसम्बन्धी सबै रोग पायल्स नहुन सक्छन्।
दिसा गर्ने ठाउँमा विभिन्न समस्या हुन्छन्। जस्तै- दुख्ने, पोल्ने, चहर्याउने, दिसा साह्रो आउने, रगत जाने, सुन्निने, मासु पलाउने, चिलाउनेलगायत। यी सबै समस्या पायल्स हुँदैनन्।
पायल्स भएको छ भने मासु पलाउने अथवा रगत जाने हुन सक्छ। पायल्समा प्रायजसो रगत जम्ने अवस्था हुन्छ। मलद्वारबाट रगत गइरहेको छ भने अन्य कारणले पनि हुन सक्छ। जस्तै- च्यातिएर, फाटेर, एनल फिसरले गर्दा पनि हुन सक्छ।
यस्तै, अल्सर घाउ भएको हुन सक्छ। आन्द्रा पाकेको अथवा अरू रोग जस्तै- क्रोम्स डिजिज, अल्सरल कोलाइटीले पनि भएको हुन सक्छ। अथवा आन्द्रामा रगत फाल्ने सानो मासु होलिपले पनि हुन सक्छ। क्यान्सरले गर्दा पनि रगत बगेको हुनसक्छ।
यी कारणले रगत बग्दा पनि मानिसलाई पायल्स भएको हो भन्ने भ्रम हुन्छ। त्यसैले समयमै पहिचान गरी निदान गर्दा जटिलता हुँदैन।
कस्ता व्यक्तिमा देखिन्छ ?
मलद्वारसम्बन्धी रोग विगतमा उमेर बढी भएका ज्येष्ठ नागरिक, धेरै हिँडडुल गर्न नसक्ने व्यक्ति, लामो समय कब्जियत भएका व्यक्तिमा देखिने गर्थ्यो। अहिले मुख्यतया खानपिन र लाइफस्टाइलले गर्दा बालबालिकाहरूमा पनि देखिन थालेको छ। बालबालिकामा पनि कब्जियत हुने, दिसाबाट रगत जाने गरेको छ।
पछिल्लो समय फाइबर कम भएको, प्राकृतिक खानेकुरा कम खाने, जंकफुड बढी खाने, समयमा खाना नखाने, पानी कम खाने, फलफूल कम खाने हुँदा बालबालिकादेखि नै यो समस्या देखिँदै गएको छ।
के गर्ने ?
– पायल्स भयो भनेर जथाभावी औषधि सेवन नगर्ने
– मलद्वारसम्बन्धी समस्या देखिएमा स्वास्थ्यकर्मीसँग परामर्श गरी उपचार गर्ने
– प्रशस्त पानी पिउने
– जंकफुड नखाने
– समयमा खाना खाने
(जनरल सर्जन डा. शाहसँग कुराकानीमा आधारित)