काठमाडौं- आज २५ नोभेम्बर। विश्व इतिहासका त्यस्ता घटना, जसले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९५०- ‘स्टर्म अफ दी सेन्चुरी’बाट अमेरिका प्रभावित
अमेरिकामा आएको एपलाचियन नामक तुफानका कारण पूरै मुलुक प्रभावित भएको थियो। खासगरी, एपलाचियन क्षेत्रमा ६० इन्चसम्म बरफ जमेको थियो। त्यसका कारण जनजीवन प्रभावित भएको थियो। यसमा परी १५० जनाको ज्यान गएको थियो।
– सन् १९५२- विश्व इतिहासकै लामो नाटक
‘अगाथा क्रिस्टिज् द मुसट्र्याप’ विश्व इतिहासमै सर्वाधिक लामो नाटक मञ्चन थियो। यो ‘ब्लाइन्ड माइस’ नामक रेडियो नाटकका रूपमा शुरु भएको थियो। यो डेनिस ओनिलको मृत्युमाथि आधारित छ।
– सन् १९६०- मिराबल दिदी-बहिनीको क्रुर हत्या
क्यारिबियन मुलुक डोमिनिकन रिपब्लिकका एक्टिभिस्ट तीन दिदी-बहिनीहरू प्याट्रिया, मिनर्भा र एन्टोनिया मिराबलको आजकै दिन क्रुर हत्या भएको थियो। उनीहरू राफेल ट्रुजिलो नामक तानाशाहका विरोधी थिए। उनीहरूको हत्यालाई दुर्घटनाका रूपमा ढाकछोप गर्ने प्रयास गरिएको थियो। उनीहरूको नृशंस हत्याको स्मरणमा संयुक्त राष्ट्र संघले सन् १९९९ मा २५ नोभेम्बरलाई महिलाविरुद्धको हिंसा उन्मुलन दिवस मनाउने घोषणा गरेको थियो।
– सन् १९७३- ग्रिसमा सैन्य ‘कु’
सन् १९७३ मा आजकै दिन ग्रिसमा सैन्य ‘कु’ भएको थियो। राष्ट्रपति जर्ज पापाडोपोलसलाई अपदस्थ गरेर सेनाले सत्ता आफ्नो हातमा लिएको थियो। एथेन्सको पोलिटेक्निकमा भएको विद्यार्थीको प्रदर्शन दमन गरिएको सातादिनपछि सैन्य ‘कु’ भएको थियो।
– सन् २००९- साउदीको त्यो विनाशकारी बाढी
सन् २००९ मा आजकै दिन साउदी अरेबियामा विनाशकारी बाढी आएको थियो। हजको दौरान भएको ४ घण्टा लामो वर्षा ३ वर्षयताको जत्रै विशाल थियो। त्यसमा परी डेढ सय जनाभन्दा बढी मारिएका थिए। हजारौं कारहरू बाढीले बगाएको थियो।
– सन् २०१७- २४ वर्ष पुरानो भ्रुणबाट जन्मिइन् एम्मा व्रेन
सन् २०१७ मा आजकै दिन हालसम्मकै सर्वाधिक पुरानो भ्रुणमार्फत अमेरिकामा एक बालिकाको जन्म भएको थियो। २४ वर्ष पुरानो फ्रोजन भ्रुणबाट एम्मा व्रेन नामक बालिकाको जन्म भएको थियो। यसलाई मानव इतिहासकै सफलतम अभ्यास मानिएको छ।
– सन् २०२१- भारतमा केटाभन्दा केटी बढी
सन् २०२१ मा एक तथ्यांकले भारतमा केटाभन्दा केटीको संख्या बढी रहेको खुलासा गरेको थियो। नयाँ सरकारी तथ्यांकअनुसार पछिल्ला वर्षमा भारतमा केटाको संख्या कम र केटीको संख्या बढी देखिएको थियो।
– सन् २०२४- ट्रम्पविरुद्धको आपराधिक आरोप खारेज
सन् २०२४ मा आजकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएका आपराधिक आरोपहरू खारेज गरिएको थियो। अमेरिकी न्याय विभागका विशेष वकिल ज्याक स्मिथले ती आरोपहरू खारेज गर्न अनुमति मागेका थिए। र, उनलाई अनुमति दिइएको थियो। पदमा वहाल राष्ट्रपतिविरुद्ध आरोप लगाउनु र उनीविरुद्ध मुद्दा चलाउनु संविधानको उल्लंघन हुने र कार्यकारी ब्रान्चको काममा दख्खल पुग्ने दाबी उनको थियो।